बुधबार, जेठ ८, २०८२

सबै क्षेत्रको समन्वयमा मात्रै विपद् जोखिम न्यूनीकरण गर्न सकिन्छ : गृहमन्त्री लेखक

नेपालखोज २०८२ जेठ ७ गते २१:३१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले यस वर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्यका सन्दर्भमा पर्वतारोहण, हिमाली क्षेत्रको उद्धार, जल तथा पदयात्रासँग सम्बन्धित संस्थाका प्रतिनिधिहरुसँग छलफल गरेका छन् ।

आज सिंहदरबारमा भएको छलफलमा गृहमन्त्री लेखकले सरकारी, सुरक्षा, निजी क्षेत्रसँग भएको क्षमता, जनशक्ति तथा ज्ञान सीप जोडेर मात्र विपद् जोखिम न्यूनिकरण गर्न सकिने बताए । गृहमन्त्रालयले सबै निकायबीच एकीकृत र समन्वयको अवधारणा लिएको उनले जानकारी दिए ।

छलफलमा नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सीज, हिमाली समुदाय जलवायु मैत्री सङ्गठन, हिमालयन उद्धार सङ्घ नेपाल, पर्वतारोहण सञ्चालक सङ्घ नेपाल, ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल, नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक सङ्घ र नेपाल पर्वतारोहण सङ्घका पदाधिकारी एवं प्रतिनिधिको उपस्थिति थियो ।

छलफलमा प्राधिकरणका प्रमुख कार्यकारी ई. दिनेश भट्टले सबै निकायको एकीकृत प्रयासबाट विपद्का कारण हुने क्षति न्यूनिकरण गर्न प्राधिकरणले विभिन्न सङ्घ संस्थासँग छलफल गरिरहेको जानकारी दिए ।

मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ मा यी निकायको भूमिका, दक्षता, उपलब्ध जनशक्ति एवं सामग्रीको बारेमा जानकारी प्राप्त गर्ने उद्देश्यले राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले छलफल आयोजना गरेको हो ।

छलफलमा तीनै सुरक्षा निकायका विपद् शाखाका प्रमुख तथा प्रतिनिधि, सडक विभाग एवं विश्व खाद्य कार्यक्रमका अधिकारीहरुको सहभागिता थियो ।

प्रतिक्रिया