‘जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी हुनुपर्छ ’

बनियानी (झापा) । झापाको हल्दिबारी गाउँपालिकाको वडा नं ५ र १ जोड्ने भुतेनी खोलामा पुल निर्माण भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देनले आज पुलको शुभारम्भ गदै जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी भए विकासमा कुनै अवरोध नआउने बताए ।
हल्दिबारीले यहाँको सर्वाङ्गीण विकासमा जुन फड्को मारिरहेको छ, म त्यसका लागि सबैलाई बधाइ दिन्छु, उनले भने । हालसम्म एक सय ५० काठेपुल विस्थापित गरी पुल र कल्भर्ट निर्माण गरिएको गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देन बताए । यससँगै भुसुडी खोलामा थप दुईवटा पुल निर्माण सम्पन्न हुन लागेको उनले बताए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) हल्दिबारी अध्यक्ष त्रिलोचन सपाकोटाले कम लागत र समयमै पुल निर्माण हुनु सुखद् भएको बताए । गाउँपालिकाले राजनीतिक पूर्वाग्रह नराखी नयाँ र पुराना योजना सञ्चालन गरिरहेको बताउदै उनले स्थानीय तहकै बजेटमा पुल निर्माण हुनु गौरवको विषय बनेको उल्लेख गरे ।
हल्दिबारी गाउँपालिकाको आफ्नै बजेटबाट भुतेनी खोलाम एउटा र भुसुडी खोलमा दुईवटा चार करोड ९६ लाख ८५ हजार ९२८ को लागत निर्माण भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र)ले जानकारी दिए । आज भुतेनी खोलामा उद्घाटन गरिएको पुलको लागत दुई करोड ३० लाख रहेको छभने लम्बाइ ४२.७ मिटर र चौडाइ ७.२ मिटर रहेको छ । पुल निर्माणको ठेक्का सारा सृष्टि निर्माण सेवा प्रालिले पाएको थियो ।
गाउँपालिकाले दुई वर्षभित्र पुलको निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनी सारा सृष्टिसँग २०७९ मङ्सिर ७ गते सम्झौता गरेको उनले बताए । पुल निर्माण भएसँगै हल्दिबारी गाउँपालिकासँग हल्दिबारी–१ वासीको सिधा सम्पर्क भएको छभने वडा नं ५ र १ का हजारौँ स्थानीयवासी लाभान्विन भएको नगरपालिकाका योजना शाखा प्रमुख राजन न्यौपानेले जानकारी दिए । वर्षायाममा आवातजावत गर्न सास्ती व्यहोरिरहेका नजिकै रहेको धनुषा आधारभूत विद्यालयका विद्यार्थीलाई समेत पुल निर्माण भएपछि सहज भएको छ ।
प्रतिक्रिया