सुरु भयो स्वाँतका भिरमा यसयामको ‘हनिहन्टिङ’

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –५ स्वाँतमा रहेका भिरहरुमा महशिकार सुरु भएको छ । स्वाँतवासीले हरेक वर्षको जेठ महिनाको पहिलो हप्ता सामूहिक रुपमा गाउँ वरपरको भिरमा सामूहिक महशिकार गर्ने वर्षौअघिदेखिको चलनलाई निरन्तरता दिएका छन् । स्थानीय लोकबहादुर पाइजाको नेतृत्वमा मंगलबार छहरे भिरबाट ४० लिटर मह निकालिएको छ ।
डोरीमा झुण्डीएर मह निकाल्ने टोलीमा पाइजाको साथमा ७२ वर्षीय केशबहादुर तिलिजा पुन देखि तुलबहादुर पुर्जा, सुजन तिलिजा र सनम पाइजा लगायतका युवाहरु सहभागी भएका थिए ।
अक्करे भिरमा शिकारीले भाडामा झिक्ने महलाई संकलन, प्रारम्भिक प्रसोधन गर्ने र सहयोगी सहित करिब २० जना सहभागी थिए । महशिकार गर्ने चलन लोप हुन नदिनका लागि अग्रजहरुले युवाहरुलाई यस सम्बन्धी सिप सिकाएर हस्तान्तरण गरेका छन् ।
स्वाँतबासीहरु घरको काम सकेर दिनभर महशिकार अवलोकन गर्न छहरेभिर गएका थिए । महशिकार गर्नुअघि भिरको नजिकै मगर संस्कृति अनुसार अशुभ् नहोस भन्ने कामना गर्दै पुजाआजा गरिएको थियो । गत वर्ष दुई सय लिटर मह निकालिएको छहरे भिरमा यसपाली पाँच गुणा कम मह उत्पादन भएको छ ।
केही दिनदेखिको बर्षाका कारण मौरी चरन क्षेत्रमा जान नपाउँदा गोलाको मह खाएकाले मह कम भएको शिकारी पाइजाले बताए । छहरीको भिरमा ११ वटा गोला थियो । बुधबार स्वाँत देखि खोपारा जाने पदमार्गमा पर्ने छिसको टाउको भिरमा महशिकार गर्ने तयारी छ । त्यहाँ करिब २० वटा गोला छन् ।
खोल्साको नजिकैको ओसेपिलो ठाउँको अक्करे पहाडको बिच भागमा भिरमौरीको बासस्थान हुन्छ । वनजङ्गलमा फुल्ने फुल भिरमौरीको आहरा हो । हिउँदमा न्यानो खोज्दै बेशी झर्ने भिरमौरी गर्मी बढ्न थालेसँगै माथिल्लो क्षेत्रमा बसाईसराई गर्छन् ।
महशिकार अवलोकनका लागि पर्यटकहरु पनि आएका थिए । काठमाडौंका सागर पराजुलीले रसीमा झुण्डीएर भिरबाट मह निकालेको साहासिक दृष्य अवलोकन गर्ने सौभाग्य मिलेको बताए ।
भीरमा भीरमौरीले लगाएका गोला काट्नका लागि मह सिकारी डोरी ९पराङ० मा झुन्डिएर मह सिकार गर्ने गर्दछन् । वसन्त र शरद ऋतु मह शिकारका लागि उपयुक्त समय मानिन्छ । वसन्त ऋतुमा बेँसी र शरदमा लेकमा पुगेर भिरमह निकाल्न उपयुक्त समय हो ।
मह निकाल्नका लागि भीरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा सिकारी बाँडिएका हुन्छन् । एक समूहले भीरको माथिबाट तल भुइँसम्म डोरी स्थानीय भाषामा परङ झुन्ड्याउँछन् भने भिरको तल अथवा माथिपट्टि बस्ने अर्को समूहले मह थाप्ने र स्याहार्ने गर्दछन् ।
महको चाका वरिपरि माहुरी घेरिएर बसेका हुन्छन् । धुवाँ लगाइदिएपछि मौरी भाग्छन् । त्यतिबेला मह निकाल्न विशेष ध्यान पु¥याउनु पर्छ । जब परङमार्फत गएका सिकारीले गोलामा धुँवा झोस्न सुरु गर्छन् माहुरीले टोक्ने डरले वरपरका सबै सिकारी रूख र ओडारमा लुक्छन् ।
माहुरी अन्यत्रै भागेपछि मात्र उनीहरुलाई बाहिर आएर मह निकाल्न सजिलो हुने गर्छ । मुख्य सिकारीले हतियार प्रयोग गरी निकालेको महको भाँडालाई डोरीको सहायताले तलमाथि गराइन्छ गरिन्छ ।
स्वादिलो, स्वास्थ्यका लागि हितकर भिरमह शक्तिवद्र्धक हुने स्वाँतका बासिन्दा बलबहादुर तिलिजाले बताउनुभयो । मह धार्मिक कार्यमा पनि प्रयोग हुने भएकाले थप महत्व छ । विदेश गएका र सहरमा बस्नेहरुले भिरमह कोशेलीका रुपमा लैजाने गर्छन् ।
स्वाँतका सबै भिरबाट निकालिएको मह संकलन गरेपछि बैठक बसेर वितरण गर्ने चलन छ । पराङमा चढ्ने, उनीहरुलाई सहयोग गर्ने र गाउँमा बसोबास गर्नेहरुलाई तीन बर्गमा बिभाजन गरेर मह वितरण गर्ने चलन छ । गाउँमा वितरण भएपछि बढी भएको मह बाहिर बिक्री गर्ने गरिन्छ ।
स्वाँतको भिरमहको मूल्य प्रतिलिटर रु। तीन हजार कायम गरिएको छ । बसाई सरेर बेनी, पोखरा, काठमाडौ, चितवन गएकाहरु मह शिकार गर्ने समयमा स्वाँत आउँछन् । पोखरामा बस्दै आएकी स्वाँतकी चन्द्र पुनले महशिकार हेर्न, ताजा मह खान र किनेर लैजान हरेक बर्ष गाउँमा आउने गरेको बताउनुभयो । स्वाँतमा बस्ति बसेदेखिनै महशिकार गर्ने चलन रहेको छ ।
प्रतिक्रिया