बुधबार, जेठ ८, २०८२

जीवनोपयोगी सीप सिकाउँदै स्थानीय तह

नेपालखोज २०८२ जेठ ८ गते १२:२१

दमौली (तनहुँ) । यहाँका युवावर्गलाई लक्षित गर्दै जीवनोपयोगी सीप सिकाउन थालिएको छ । स्थानीयलाई स्वरोजगार बनाउने उद्देश्यसहित स्थानीय तहद्वारा ‘युवा लक्षित कार्यक्रम’अन्तर्गत विभिन्न सीप सिकाउन थालिएको हो । व्यास नगरपालिका–३ वडा कार्यालयले युवालक्षित जीवनोपयोगी सीप सिकाएर आत्मनिर्भरतातर्फ लैजाने उद्देश्यले कपाल काट्ने र सौन्दर्यकलासम्बन्धी सीपमूलक तालिम दिन थालेको हो ।

युवालाई लक्षित गरी कपाल काट्नेसम्बन्धी दुई महिने तालिम सञ्चालन गरिएको वडा सदस्य दधिराज घिमिरेले जानकारी दिए । उनले भने, स्वरोजगारमूलक तालिमलाई प्राथमिकता दिँदै युवालाई आर्थिक आम्दानीमा जोड्ने उद्देश्यसहित तालिक सञ्चालन गरिएको हो । गत वर्ष पनि सीपमूलक तालिम प्रदान गरेका थियौँ । वडाले सञ्चालन गरेको कपाल काट्ने तालिममा १५ युवा र सौन्दर्यकला तालिममा १५ जना युवतीको सहभागिता रहेको घिमिरेले जानकारी दिए ।

व्यास–३ का वडाध्यक्ष अनुप रानाले स्थानीयको माग अनुसार युवालक्षित कार्यक्रम सञ्चालन गर्दै आइएको बताए । उनले भने, युवायुवतीलाई सीप सिकाएर सक्षम, स्वरोजगार र आम्दानीका स्रोत सुनिश्चित गर्ने लक्ष्य पालिकाको हो । युवायुवतीले जुन तालिमको माग गर्नुहुन्छ सोही अनुसार तालिम दिन थालेका छौँ । कपाल काट्ने तालिम लिनुभएका गौरव धमेलले सीप सिकेपछि भविष्यमा आफैँले व्यवसाय गर्ने योजना बनाएको बताए ।

उनले भने, जीवनोपयोगी सीप सिकेपछि भोलिका दिनमा आफैँ स्वरोजगार बन्न सकिन्छ । विदेश जाँदा पनि सीप सिकेर गएमा थप उपलब्धिमूलक हुनेछ । ह्याण्डसम पार्लरका सञ्चालक मोविन मोहम्मदले तालिममा सहभागी युवालाई कपाल काट्ने प्रयोगात्मक सीपबारे जानकारी गराएका छन् । म्याग्दे गाउँपालिकाले स्थानीय समुदायलाई आत्मनिर्भर बनाउने उद्देश्यअनुसार युवाको मागबमोजिम सीपमूलक तालिम सञ्चालनको तयारी गरेको छ ।

गाउँपालिकाले गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत क्रिष्टलका गहना, हर्पिक, फिनेल, झोल साबुन उत्पादन, कफी बनाउने (वारिष्टा), कला संस्कृतिका लागि पञ्चेबाजा बजाउने, कुकिङलगायत तालिम सञ्चालनको तयारी गरिरहेको गाउँपालिकाका आर्थिक विकास शाखा प्रमुख प्रदीप न्यौपानेले जानकारी दिए । उनका अनुसार सीप सिकाउँदै उद्यमी बन्न चाहनेका लागि घरधुरी सर्वेक्षण, अभिमुखीकरण र उद्यमशीलता विकास तालिम सञ्च्चालन भइरहेका छन् ।

प्रतिक्रिया