बुधबार, जेठ ८, २०८२

‘वर्तमान सरकार आर्थिक विकास र पूर्वाधार निर्माणमा केन्द्रित छ’

नेपालखोज २०८२ जेठ ८ गते १३:०७

देउखुरी (दाङ) । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले वर्तमान सरकार आर्थिक विकास, पूर्वाधार निर्माणलगायत काममा केन्द्रित रहेको बताएका छन् ।

प्रेस चौतारी नेपाल दाङ शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले दुई ठूला दल कांग्रेस र एमाले मिलेर बनेको वर्तमान सरकार जनताका निराशा अन्त्य गर्दै आर्थिक विकासमार्फ जीवनस्तर उकास्ने काममा प्रयासरत रहेको उल्लेख गरे ।

अहिलेको सत्ता गठबन्धन २०८४ को निर्वाचनसम्म निरन्तर रहने दाबी गर्दै महासचिव पोखरेलले सरकारविरुद्ध कसैले नकारात्मक प्रचार गरे त्यो निराधार हुने धारणा राखे । सत्ता साझेदार दलबीच असमझदारी नहुँदासम्म सरकार निरन्तर रहने उनले बताए ।

वर्तमान सरकारको नीति र योजनाका कारण पछिल्लो समय मुलुक आर्थिक रूपमा सबल बन्नुका साथै राजस्व सङ्कलनमा वृद्धि भएको महासचिव पोखरेलले दाबी गरे । दाङको घोराही–तुलसीपुर चारलेन सडक निर्माणका लागि बोलपत्र आह्वान भएको छ, यथाशीघ्र काम सुरु हुन्छ । लमही–घोराही सडकलाई वैकल्पिक मार्गका रूपमा अगाडि बढाउने योजना सरकारले बनाएको छ, उनले भने ।

उनले दाङको टरिगाउँ विमानस्थललाई विस्तार गरिने जनाउँदै पिउने पानी र सिँचाइका लागि पनि विभिन्न योजना बनाइएको बताए । दाङको औद्योगिक क्षेत्रमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)निर्माण गर्ने काम यथाशीघ्र सुरु हुनेछ, उनले भने, इन्धन डिपो निर्माणको विषयमा सरोकार भएकासँग छलफल भइरहेको छ ।

महासचिव पोखरेलले लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा जग्गाको कित्ताकाट्को काम आगामी आर्थिक वर्षदेखि नै अगाडि बढाइने बताए । प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रममा यो विषय समावेश गरेको उनले जानकारी दिए ।

प्रेस चौतारी नेपाल दाङ शाखाका अध्यक्ष सुधासुमन ढकालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विमल योगीले स्वागत गरेका थिए भने कार्यक्रम सञ्चालन सचिव निमुसङ्गम घर्तीले गरेका थिए ।

प्रतिक्रिया