समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकका शून्य समयमा भाग लिँदै सदस्यहरुले पर्यटन क्षेत्रलाई दिनुपर्ने सुविधादेखि लिएर विपद् व्यवस्थापनतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रियसभाको सदस्य उर्मिला अर्यालले भारतीय पर्यटकलाई एक हजार र ५०० रुपैयाँ दरका भारतीय नोट चलाउने अनुमति दिएमा नेपाल आउने पर्यटक रु सयका धेरै नोट बोग्नुपर्ने झन्झटबाट मुक्त हुने भएकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।
सदस्य कमला पन्तले ‘विपद् भन्ने कुरा बाजा बनाएर आउँदैन’ भन्ने नेपाली उखानजस्तै समयमै विपद् रोकथाम गर्नुपर्ने तथा हिमताल फुटेर नागरिक प्रभावित हुनेगरेको प्रति समयमै सेचत रहन सरकारको ध्यानाकर्षण गराए ।
सदस्य कृष्णप्रसाद पौडेलले पछिल्लो पाँच वर्षमा एक हजारभन्दा बढी व्यक्तिले विद्युतीय करेन्ट लागेर ज्यान गुमाउनु परेको उल्लेख गर्दै विद्युत् प्राधिकरणमार्फत लत्रिएका तारको व्यवस्थापन गरी भूमिगत तार लगाउने व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराए ।
सदस्य गोमादेवी तिमिल्सिनाले नेपाली कांग्रेस र कम्युनिस्ट सरकारको नेतृत्वमा बनेको सरकारका पालामा नीजिकरण गरेका उद्योगबाट कति रोजगारी सिर्जना भए भन्ने विषयमा सदनलाई यथार्थ विवरण गराउन माग गरिन् ।
सदस्य दुर्गा गुरुङले कर्णाली प्रदेशमा पूर्वाधार निर्माण र ठूला उद्योग सञ्चालन नहुँदा रोजगारीको अभावमा वैदेशिक रोजगारमा धेरै जाने गरेको हुनाले स्वदेशमै सीपमूलक तालिम र रोजगारीका लागि उद्योगधन्दा सञ्चालन गर्न माग गरिन् ।
प्रतिक्रिया