बुधबार, जेठ ८, २०८२

कोशी प्रदेशसभाः नीति तथा कार्यक्रममाथिको छलफल जारी

नेपालखोज २०८२ जेठ ८ गते १६:३९

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल जारी छ ।

कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ३८ को उपनियम १ बमोजिम सुरु भएको छलफलमा प्रदेशसभाका सांसदहरू कमजप्रसाद जबेगु, विदुरकुमार लिङथेप, बाबुराम गौतम, राजेन्द्र कार्की, सपना दर्जी, प्रदीपकुमार सुनवार, विनोद राई, खगेश्वरी पौडेल, होमबहादुर थापालगायतले आ–आफ्नो धारणा राखे ।

बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले समसामयिक विषयमा उठेका जिज्ञासाको जवाफमा प्रदेश सरकार संविधान र कानुनको दायराभित्र रही काम, कर्तव्य र अधिकार प्रयोगमा प्रतिबद्ध रहेको जानकारी दिए । उनले भर्खरै कोशीमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको जनाउँदै शान्ति सुरक्षा, मौद्रिक नीति, परराष्ट्र नीतिलगायत क्षेत्र सङ्घीय सरकारको मातहत रहने भएकाले सोही मान्यताअनुसार सुरक्षा बैठक सम्पन्न भएको स्पष्ट पारे ।

उक्त गोष्ठीमा सुरक्षा निकायलाई सरकारले आवश्यक निर्देशन दिएको बताउँदै मन्त्री भण्डारीले यही जेठ ५ गते मोरङको कानेपोखरीमा प्रदेशसभाका सांसद सवार सवारी दुर्घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिइसकिएको स्पष्ट पारे । उनले चार जना सांसदमा दुई जना उपचारपछि घर फर्किएको जनाउँदे दुई जना उपचाररत रहनुभएकाले सरकारले आवश्यक सहयोग गर्ने बताए ।

उनले घाइते सांसदद्वयको शीघ्र स्वास्थ्य लाभको कामना गरे । मन्त्री भण्डारीले गत वर्षमा बाढी र पहिरोबाट कोशी प्रदेशमा रु चार अर्ब ६२ करोड बराबरको क्षति भएकामा सरकारले चालु खर्चमा कटौती गरी ४० करोड बराबरको राहत वितरण र निर्माण सम्पन्न गरेको जानकारी दिए ।

उनले प्रदेश सरकारको मातहतमा रहेको यातायात व्यवस्था कार्यालय व्यवस्थित गर्ने प्रयास भइरहेको भन्दै विद्युतीय प्रणालीबाट कर भुक्तानी र सवारी अनुमतिपत्र एक महिनामा प्रदान गर्ने व्यवस्था सरकारले मिलाइसकेको जानकारी दिए । यसअघि आजको बैठकको शून्य समयमा सांसदहरू खिनु लङवा लिम्बू, गोम्बु शेर्पा, सम्झना तामाङ थाम्साङ, तिलचन पाठक, बुद्धिकुमार राजभण्डारी, रामप्रसाद मेहता, र कमलप्रसाद जबेगुले मुलुकको समसामयिक विषयमा धारणा राखेका थिए ।

प्रतिक्रिया