‘भाषा जीवन्त राख्न मातृभाषा पत्रकारिता आवश्यक छ’

काठमाडौं । मातृभाषा पत्रकारिताले भाषाको संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सरोकारवालाले बताएका छन् ।
भाषा आयोगका अध्यक्ष डा गोपाल ठाकुरले भाषा जीवन्त राख्न मातृभाषा पत्रकारिता आवश्यक रहेको र त्यसलाई प्रविधिसँगै जोडेर लैजान सक्नुपर्ने धारणा व्यक्त गरे ।
प्रेस काउन्सिल नेपालद्वारा आज आयोजित पाँच मातृभाषामा अनुवादित आचारसंहिता पुस्तिका एवं संहिता भाषागत पत्रकारिता विशेषाङ्क पुस्तक सार्वजनिकीकरणमा उनले भने, ‘भाषा जोगाउन सबैको सामूहिक प्रयासको खाँचो छ । स्थानीयपन नहुने र मौलिकता छोडियो भने मातृभाषा रहँदैन । पत्रकारिताको माध्यमबाट मातृभाषाको संरक्षण गर्न जरुरी छ ।’
डा ठाकुरले लेख्यरुप नभएका भाषाको प्रवर्द्धनका लागि प्रेस काउन्सिल नेपाल र भाषा आयोगबिच सहकार्य गर्न तयार रहेको बताए ।
नेपाली मिडियामा विभिन्न आठ मातृभाषाका आचारसंहिता प्रयोगमा छन् । भाषा आयोगका अध्यक्ष डा ठाकुरसहित काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष धर्मेन्द्र झाले पुस्तिका सार्वजनिक गरे ।
भोजपुरी, राई (वान्तावा), तामाङ, डोट्याली, लिम्बू भाषामा अनुवादित पत्रकार आचारसंहिता सार्वजनिक गरेको हो । यसअघि काउन्सिलले थारु, मैथिली र नेपाल भाषामा अनुवादित आचारसंहिता सार्वजनिक गरिसकेको छ ।
कार्यक्रममा राससका अध्यक्ष झाले मातृभाषा पत्रकारिताले आर्थिक सङ्कट भोगिरहेकाले फस्टाउन नसकेको धारणा राखे । उनले भने, ‘कुनै वर्ग तथा समुदायको पहिचान जोगाउने माध्यम नै भाषा हो । भाषा पहिचान, परिचय, सभ्यतासँग जोडिएको विषय हो । स्थानीय निकायलाई पनि भाषा जगेर्नामा जिम्मेवार बनाउनुपर्ने बेला आएको छ ।’
उनले देशका धेरै भूभागमा अझै पनि नेपाली भाषा बुझ्ने समुदाय नभएकाले मातृभाषामा पत्रकारिता गर्नु जरुरी रहेको उल्लेख गरे ।
प्रतिक्रिया