शुक्रबार, जेठ १०, २०८२

‘श्रम क्षेत्रको नीति र कानुनको आधार कांग्रेसले तयार पारेको हो’

नेपालखोज २०८२ जेठ १० गते १८:५७

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रम क्षेत्रको नीति र कानुनको आधार पार्टीले नै तयार पारेको बताएका छन् ।

कांग्रेस, श्रमिक तथा ट्रेड युनियन विभागले आज पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजना गरेको पेसागत सम्मान, सुरक्षा र मर्यादित कामका लागि ‘श्रमजीवीका कुरा’ विषयक कार्यक्रममा उनले कांग्रेसकै सरकारले कारखाना सम्बन्धी ऐन, २०१६, श्रम ऐन, २०४८ (संशोधित २०७४), योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ संसद्बाट पारित गराएको बताए ।

अन्तरराष्ट्रिय श्रम सङ्गठनको सङ्गठन गर्ने अधिकारसम्बन्धी अभिसन्धि ८७ नेपालले पारित गर्नुपर्ने एवं संवैधानिक श्रम आयोग गठन हुनुपर्ने कुराका साथै श्रम कानुन परिमार्जन गरी कार्यान्वयनमा ल्याउन कांग्रेसले पहल गर्ने प्रतिबद्धता उनले जनाए । शिक्षा र निजामती विधेयक अघि बढाउने विषयमा पनि पार्टी दृढ रहेको सभापति देउवाले दोहोर्‍याए ।

समाजवादी अवधारणा अनुसार सामाजिक सुरक्षा भत्ता नसक्नेलाई उपलब्ध गराउनुपर्ने, अनौपचारिक क्षेत्रका श्रमजीवीलाई योगदानमा आधारित सामाजिक सुरक्षा सहज रूपमा उपलब्ध गराउन कानुन संशोधन गरेर कार्यान्वयन गराउने पनि उनको वाचा छ । अनौपचारिक क्षेत्रका श्रमिकको पहिचान र पञ्जीकरणका लागि स्थानीय तहमा व्यवस्था गर्न कांग्रेसले पहल गर्ने सभापति देउवाले बताए ।

प्रतिक्रिया