शुक्रबार, जेठ १०, २०८२

नेपाल वायुसेवा निगमलाई प्रभावकारी बनाउन अध्यक्ष ढकालको आग्रह

नेपालखोज २०८२ जेठ १० गते १९:३७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई प्रभावकारी बनाउँदै सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोग तथा नेपाल पर्यटन बोर्ड र नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आयोजनामा आजदेखि यहाँ सुरू भएको तेस्रो बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट (बिआइटिएम)को उद्घाटन कार्यक्रममा उनले कनेक्टिभिटीका लागि नेपाल वायुसेवा निगमलाई थप प्रभावकारी बनाउँदै सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

पर्यटन प्रवर्द्धनका लागि पूर्वाधारको विकाससँगै कनेक्टिभिटी बढाउन पनि सरोकार भएका निकायलाई अध्यक्ष ढकालले आग्रह गर्नुभयो । मार्टले नेपाललाई बौद्ध पर्यटन केन्द्रका रूपमा स्थापित गर्न मद्दत गर्ने उल्लेख गर्दै उनले मार्टलाई परिस्कृत गरी ब्रान्डका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।

उनले बौद्ध पर्यटन प्रवर्द्धनका लागि नेपालको लुम्बिनीसहित बुद्धसँग सम्बन्धित बौद्ध तीर्थस्थल तथा भारतमा रहेका तीर्थस्थलसँग जोडेर ‘बौद्ध सर्किट’ विकास गर्नुपर्ने बताए । अध्यक्ष ढकालले विश्वभरका बौद्ध धर्मावलम्बीलाई कम्तीमा एक पटक बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुपर्छ भन्ने सन्देश दिन तथा सोहीअनुरूप पर्यटक आगमन बढाउन सकेमा नेपाल आर्थिक रूपमा सबल हुनुका साथै पर्यटनको आयाम परिवर्तन गर्न सकिने धारणा राखे ।

अर्बौंको लागतमा गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माण भए पनि पूर्ण रूपमा सञ्चालनमा आउन नसकेकाले पर्यटकको आवागमन उल्लेख्य रूपमा वृद्धि हुन नसकेको अध्यक्ष ढकालले बताए । विमानस्थल पूर्ण रूपमा सञ्चालनका लागि ठोस पहल गर्न उनले सरकारसँग आग्रह गरे ।

प्रतिक्रिया