शनिबार, जेठ ११, २०८२

‘गाजामा राहत सामग्री लुटिँदा मानवीय संकट गहिरो हुँदैस्’

नेपालखोज २०८२ जेठ ११ गते १३:१०


काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा भइरहेको युद्ध अहिले सबैभन्दा पीडादायी र क्रूर अवस्थामा पुगेको बताएका छन् ।

इजरायलले केही समयदेखि गरेको कडा घेराबन्दी केही सहज बनाएपछि राहत सामग्री गाजामा प्रवेश गर्न थालेको थियो। तर राहत लादिएका १५ भन्दा बढी ट्रकहरू बाटोमै लुटिए, जसले अवस्था अझ भयावह बनाएको छ ।

गाजा क्षेत्र लामो समयदेखि युद्धको चपेटामा छ। युद्धका कारण त्यहाँ खाद्यान्न र औषधिको अभाव छ । इजरायलले हमास नामक समूहलाई नष्ट गर्न भन्दै फेरि ठूलो सैन्य कारबाही सुरु गरेको छ। शुक्रबार मात्रै इजरायली हवाई आक्रमणमा परी गाजाका विभिन्न भागमा १६ जनाको ज्यान गएको र धेरै घाइते भएको गाजाको नागरिक सुरक्षा विभागले जनाएको छ ।

गुटेरेसले भने, ‘गाजाका मानिसहरू अहिले यस्तो स्थिति झेलिरहेका छन्, जुन सम्भवतः यो युद्धको सबैभन्दा क्रूर अवस्था हो ।’ उनले इजरायललाई राहत सामग्रीको ढुवानी सहज रूपमा प्रवेश गराउन अनुरोध गरेका छन् । उनका अनुसार हालसम्म करिब ४ सय ट्रकमध्ये केवल ११५ ट्रक मात्र गाजामा पुग्न सकेका छन् ।

विश्व खाद्य कार्यक्रमले गाजाको दक्षिण भागमा राहत बोकेको १५ ट्रक लुटिएको जानकारी दिएका छन् । ती ट्रकहरूले स्थानीय बेकरीमा रोटी पकाउनका लागि खाद्यान्न पुर्‍याउँदै थिए । संस्थाले भोक, निराशा र राहत आउँछ कि आउँदैन भन्ने डरले अहिलेको अवस्था झनै असुरक्षित बनाएको बताएको छ । इजरायललाई राहत छिटो र बढी मात्रामा प्रवेश गराउन आग्रह गरिएको छ ।

इजरायली सेनाले भने गाजामा रहेको हातहतियार गोदाम, सैन्य अड्डा र लुकेर बसेका लडाकु स्थानमा कारबाही गरिएको बताएको छ । सेनाले ७५ भन्दा बढी स्थानमा आकाशबाट बम प्रहार गरिएको जनाएको छ । गाजासँग सिमाना जोडिएका इजरायली बस्तीहरूमा पनि रकेट आक्रमणको डरका कारण सावधानी अपनाइएको छ ।

प्रतिक्रिया