शनिबार, जेठ ११, २०८२

सूर्य नेपाल च्यालेन्ज प्रो-एम : प्रो रामे मगरको टिमलाई उपाधि

नेपालखोज २०८२ जेठ ११ गते १७:३८

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गतको सातौँ प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज प्रो–एमको उपाधि प्रोफेशनल खेलाडी रामे मगरको टिमले जितेको छ । रोयल नेपाल गल्फ क्लबमा रामेको टिमले १२४ अंक सहित उपाधि जितेको हो । एमेच्योर गल्फरहरू सत्यजङ्ग रानाले ४४, सरोज थापाले ४१ र अञ्जिला योञ्जनले ३९ स्कोर गरे ।


प्रो भुवन नगरकोटीको टिमले १ सय १७ अंक सहित दोस्रो स्थान प्राप्त गरेको छ। टिमका एमेच्योर खेलाडीहरु रविन्द्र पुरूष ढकाल, मुक्ति सेन गुरूङ र तारा कार्की चित्रकारले समान ३९ स्कोर गरेका थिए । यस्तै प्रो रमेश अधिकारीको टिम १ सय १४ स्कोर सहित तेस्रो भयो । एमेच्योर खेलाडीहरु स्वप्निल भट्टराईले ३९, फुन्सुक नोर्बु लामाले ३८ र स्वदेश गुरूङले ३७ स्कोर गरे । महिलातर्फ अञ्जली योञ्जनले ३९ स्कोरमा राष्ट्रिय टिमकी खेलाडी तारा कार्की चित्रकारलाई काउन्ट ब्याकमा हराउँदै ट्रफी जितिन् ।


यसैगरी झलेन्द्र भट्टराईले लङ्गेस्ट ड्राइभ र फुन्सुक नोर्बु लामाले क्लोजेस्ट टु दी पिनको उपाधि जिते । प्रो-एममा कुल ९० एमेच्योर गल्फरको सहभागीता रहेको थियो । प्रतियोगिताका विजयी खेलाडीहरुलाई रोयल नेपाल गल्फ क्लबका अध्यक्ष मधुकर याक्थुम्बा, एनपिजिएका अध्यक्ष रविन्द्रमान श्रेष्ठ र रोयल नेपाल गल्फ क्लबका क्याप्टेन मिथुन राईले पुरस्कार वितरण गरे ।

हिजो सम्पन्न सूर्य नेपाल च्यालेन्जको उपाधि धरानका प्रो शुक्र बहादुर राईले कोर्स रेकर्ड सहित जितेका थिए । उनले समग्रमा १७-अन्डर २ सय ५५ को प्रभावशाली स्कोरमा निरज तामाङलाई ४ स्ट्रोकले हराउँदै उपाधि आफ्नो नाममा लेखाएका थिए ।


अब सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत आठौं तथा अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर जुन १० देखि १३ सम्म गोकर्ण गल्फ क्लबमा हुनेछ । प्रो-एम जुन १४ मा हुने बताइएको छ ।

प्रतिक्रिया