आइतबार, जेठ १२, २०८२

जापान भ्रमण उपलब्धिमूलक रह्याे : परराष्ट्रमन्त्री

नेपालखोज २०८२ जेठ १२ गते ८:५८

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफूले हालै सम्पन्न गरेको पाँचदिने जापान भ्रमण उपलब्धिमूलक रहेको बताएकी छन् ।

जापान भ्रमण पूरा गरी गएराति स्वदेश फर्किएपछि उनले आफ्नो भ्रमणका क्रममा जापानका विदेशमन्त्रीसहित विभिन्न महत्वपूर्ण भेटवार्ता भएका तथा नेपाल– जापान सहयोग एवं विभिन्न परियोजनाका बारेमा कुराकानी भएको जानकारी दिइन् । उक्त भेटवार्ताहरु मुलुकका लागि उपलब्धिमूलक रहेको जानकारी दिएको उनको सचिवालयले जनाएको छ ।

मन्त्री डा. राणाले भनिन्, ‘यस भ्रमणका क्रममा नेपाल जापान सम्बन्धका विविध विषयका साथै नेपालमा जापानको सहयोग र परियोजनाका बारेमा कुराकानी भयो ।

त्यस्तै सम्मेलनमा ज्येष्ठ नागरिकहरुका सम्बन्धमा अन्य देशहरुले अपनाएका नीति, त्यहाँका अवस्था तथा व्यवस्थाका बारेमा पनि जान्ने मौका मिल्यो ।’

परराष्ट्रमन्त्री डा. राणा र जापानका विदेशमन्त्री इवाया ताकेसीबीच यही जेठ ८ गते टोकियोमा द्विपक्षीय भेटवार्ता भएको थियो ।

त्यस भेटका अवसरमा नेपाल–जापान द्विपक्षीय सम्बन्ध, आपसीहित र साझा चासोका विविध विषयमा कुराकानी भएको उनले जानकारी दिइन् । -रासस

प्रतिक्रिया