खानेपानीमन्त्री यादवले सरसफाईको क्षेत्रमा राजनीतिक दलसँग खोजे प्रतिबद्धता

नेपालखोज २०८२ जेठ १२ गते ११:१०

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी, सरसफाई तथा स्वच्छताको क्षेत्रमा राजनीतिक दलसँग प्रतिबद्धता खोज्ने भएका छन् ।

खानेपानी, सरसफाई तथा स्वच्छता क्षेत्रलाई राजनीतिक प्राथमिकताको विषय बनाउने उदेश्यले प्रतिबद्धता खोजेका हुन । मन्त्री यादवले खानेपानी र सरसफाइ (वास) क्षेत्रलाई राजनीतिक दलको प्राथमिक एजेन्डा बनाउनका लागि प्रतिबद्धता जनाएका हुन । उनले सबै प्रमुख दलका नेतासँग पत्राचार गरी मन्त्रीपरिषद र संसदमा यस विषयलाई उठाउने, सातवटै प्रदेशका मुख्यमन्त्रीको नेतृत्वमा बैठक आयोजना गर्ने, र समावेशी र जलवायु अनुकूल सरसफाइ सेवाको लागि रणनीति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मन्त्री यादवले खानेपानी र सरसफाइलाई राष्ट्रिय प्राथमिकतामा राख्नका लागि विभिन्न राजनीतिक दलसँग सहकार्य र प्रतिबद्धता खोज्नु भएको हो । यसका लागि उनले विभिन्न रणनीति र कदम अघि बढाएका छन् । नेपालको सरसफाइ र खानेपानी व्यवस्थामा सुधार ल्याउन मद्दत पुर्याउने अपेक्षा गरिएको छ ।

यसका अतिरिक्त, मन्त्री यादवले सामुदायिक खानेपानी प्रणालीमाथि लाग्ने कर खारेज गर्ने, मन्त्रालयलाई मजबुत बनाउन खानेपानी तथा सरसफाइ मन्त्रालयको गठनको पहल गर्ने, र मेलम्ची खानेपानीको सेवा चन्द्रागिरि नगरपालिकासम्म विस्तार गर्ने प्रतिबद्धता जनाएका हुन । खानेपानी र सरसफाइलाई नेपालको दिगो विकासको आधारभूत स्तम्भको रूपमा अघि बढाउनका लागि राजनीतिक दलको सक्रिय सहभागिता र प्रतिबद्धता आवश्यक रहेको मन्त्री यादवले बताए ।

स्वास्थ्य, शिक्षा, लैङ्गिक समानता र समावेशी विकासमा प्रत्यक्ष प्रभाव पार्ने यस क्षेत्रको दीर्घकालीन सुधारबिना समृद्ध नेपालको सपना पुरा हुन नसक्ने भएकाले पनि खानेपानी, सरसफाई तथा स्वच्छता क्षेत्रलाई राजनीतिक प्राथमिकताको विषय बनाइनु पर्ने मन्त्री यादवले बताए । खानेपानी र सरसफाई अभावले अझै पनि हजारौँ नेपाली नागरिक खुला दिशामुक्त हुन नसकेकाले यस्तो अवस्थामा यो विषयलाई हेलचक्र गर्ने होइन, राष्ट्र निर्माणकै मुख्य एजेन्डा बनाउनु पर्ने मन्त्री यादवको भनाई छ ।

खानेपानी, सरसफाई तथा स्वच्छता क्षेत्रलाई राजनीतिक प्राथमिकताको विषय बनाउनका लागि मन्त्री यादवले सबै राजनितिकदललाई पत्राचार समेत गरेका छन् । खानेपानी र सरसफाई केवल विकास परियोजनाको विषय मात्रै नभएर जनताको अधिकारको सवाल भएकाले संघीय सांसद, स्थानीय सरकार प्रमुख राजनैतिक दलले समेत यस विषयमा ध्यान जरुरी भएको मन्त्री यादवले बताए ।

विशेषगरी यस क्षेत्रमा रहेका चुनौतीहरुलाई जस्तैः तीनै तहका सरकारबाट आयोजना तथा कार्यक्रम सञ्चालन हुँदा कार्यान्वयनमा दोहोरोपना हुनु, क्षेत्रगत दृष्टिकोण र समन्वय, स्रोत परिचालन र कार्यान्वयनमा यसको प्रणालीगत चुनौति, अपर्याप्त वित्तपोषण र कमजोर वित्तीय स्रोत व्यवस्थापन आदि सामना गर्न पनि राजनीतिक समन्वय र अग्रसरताको आवश्यकता देखिएको मन्त्री यादवद्धारा प्रेशित पत्रका उल्लखे गरिएको छ ।

यसैलाई मध्यनजर गरी खानेपानी मन्त्रालयको आयोजनामा गत २०८१ पुस २७ गते सोमबार, राजनीतिक संवाद तथा क्षेत्रगत रणनीति विषयक कार्यक्रम सम्पन्न भएको र उक्त कार्यक्रममा जम्मा १५३ जना संघ, प्रदेश तथा स्थानीय तहका नेतृत्ववर्गहरुको उपस्थितिमा एक सामूहिक छलफल ( प्यानल छलफल) आयोजना गरिएको थियो ।

हाल देशभरको तथ्याङ्क अनुसार अझै पनि करिब १५ प्रतिशत जनसङ्ख्या सुरक्षित खानेपानी सेवाबाट बञ्चित छन् भने सरसफाई पहुँचमा पनि भौगोलिक असमानता स्पष्ट देखिको बताइएको छ । सन् २०१० को जुलाइमा संयुक्त राष्ट्रसंघले खानेपानी तथा सरसफाईको पहुँचलाई मानव अधिकारको रूपमा घोषणा गरिसकेको र नेपालमा हालसम्म हाँसिल खानेपानी र सरसफाईको अवस्थाको उपलब्धीमा राजनीतिक नेतृत्वको भूमिका अहम् रहेको विगतका सफल अभियान जस्तै खुला दिसामुक्त घोषणाले प्रमाणित गरीसकेको बताइएको छ ।

नेपालको समग्र खानेपानी, सरसफाई तथा स्वच्छता क्षेत्रको समग्र विकास एवं राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिवद्धता तथा लक्ष्य जस्तैः राष्ट्रिय खानेपानी, सरसफाई तथा स्वच्छता नीति, २०८०, १६औँ आवधिक योजना, दिगो विकास लक्ष्य २०३०, हाँसिल गर्नका निम्ति खानेपानी, सरसफाई तथा स्वच्छता क्षेत्रलाई राजनीतिक तहमा समेत विगतमा जस्तै प्राथमिकताका साथ पहल कदमी लिन आवश्यक देखिएको जनाइएको छ ।

प्रतिक्रिया