‘सङ्घीयता बलियो बनाउन तीनै तहका सरकारबीच समन्वय आवश्यक छ’

नेपालखोज २०८२ जेठ १३ गते ५:३६

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सङ्घीयतालाई तल्लो तहसम्म पुर्याउन समयानुकूल ऐन कानुन संशोधन गरी जनतालाई सेवा प्रवाह गर्र्नेतर्फ जनप्रतिनिधिहरु एक ढिक्का हुनुपर्ने बताएका छन् ।

उनले सङ्घीय संसद् सचिवालयद्वारा आज हेटौँडामा आयोजित राष्ट्रियसभाका सदस्य तथा बागमती प्रदेशसभाका सदस्यहरुबीच समन्वय बैठकको उद्घाटन गरे । उनले सङ्घीयतालाई अझ मजबुत बनाउन सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय, सहकार्य गरी सेवा प्रवाहको माध्यमबाट जनप्रतिनिधिहरुको सोच र व्यवहारमा सुधार ल्याउनुपर्नेमा जोड दिए ।

उनले राष्ट्रियसभाको नियमावलीमा परिमार्जन गरी अब हरेक वर्ष सातै प्रदेशमा स्थानीय तहका जनप्रतिधि र प्रदेशसभाका सदस्यहरुबीच कानुनी अन्तरक्रिया आयोजना गरिने बताए । जसले गर्दा सङ्घीय सरकार र प्रदेश सरकारबीच सहकार्य गरी प्रदेशमा राजस्व सङ्कलन र भौतिक पूर्वाधार विकासमा जनभावनाअनुसार काम हुने उनको भनाइ छ ।

अध्यक्ष दाहालले संविधानको मर्मअनुसार प्रदेशलाई कानुनी अधिकार प्रत्यायोजन गर्न र स्वायत्त संस्थाको रुपमा क्रियाशील तुल्याउन सङ्घीय सरकारले संवैधानिक अधिकार हस्तान्तरण गर्नुपर्ने बताए ।

प्रतिक्रिया