शनिबार, जेठ ३२, २०८२

‘कर र महँगीको असर कम गर्न जापान सरकारको विशेष पहल’

नेपालखोज २०८२ जेठ १४ गते १३:१७

टोकियो । जापान सरकारले साना तथा मध्यम व्यवसायहरूलाई अमेरिकाबाट लगाइएको आयात करको असरबाट जोगाउन १५ अर्ब ५० करोड डलरभन्दा बढी बराबरको राहत कार्यक्रम सार्वजनिक गरेको छ ।

अमेरिकाले जापानसहित धेरै देशका सामानहरूमा १० प्रतिशतको आधारभूत आयात कर तथा सवारीसाधन, फलाम र एल्युमिनियममा अझै बढी दरको कर लगाएको छ, जसको प्रत्यक्ष असर जापानी व्यवसायहरूमा परेको छ ।

सरकारले साना व्यवसायहरूलाई सहज ऋण, ऋण सर्तहरूमा सहुलियत तथा सरकारी ऋण संस्थामार्फत आर्थिक सहायता प्रदान गर्ने जनाएको छ ।

मन्त्रिपरिषद्का मुख्यसचिव योशिमासा हायाशीले भने,अमेरिकी करबाट प्रभावित साना तथा मध्यम व्यवसायहरूलाई पूर्ण समर्थन दिइनेछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चालु वर्षको मार्च महिनामा जापानका सामानहरूमा २४ प्रतिशत बराबरको ‘प्रतिशोधात्मक’ कर घोषणा गरेका थिए, तर त्यो निर्णय जुलाईको सुरुसम्मका लागि रोकिएको छ ।

जापानले ती करहरू पूर्णरूपमा हटाउन आग्रह गरिरहेको छ । त्यसका लागि सरकारी प्रतिनिधि चाँडै चौथो चरणको वार्ताका लागि अमेरिका जाँदै छन् ।

प्रधानमन्त्री शिगेरु इशिबाले आगामी महिना क्यानडामा हुने सात राष्ट्रको शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति ट्रम्पसँग प्रत्यक्ष भेटवार्ता गरेर सहमति जुटाउने सङ्केत दिए ।

अर्कोतर्फ, सरकारले बढ्दो बिजुली तथा ग्यासको मूल्यका कारण जनतामा परेको असर कम गर्न आगामी तीन महिनाका लागि दुई खर्ब ८८ अर्ब बराबरको सहयोग प्रदान गर्ने जनाएको छ ।

यसले प्रत्येक परिवारको मासिक उपभोग खर्चमा तीन हजार डलरको राहत दिने बताइएको छ । साथै, सरकारले अस्पताल, विद्यालय तथा साना उद्योगहरूलाई थप विशेष सहायता प्रदान गर्ने योजना पनि अघि सारेको छ ।

प्रतिक्रिया