सर्वेक्षणमा दक्षिण कोरियाको राष्ट्रपतीय निर्वाचनमा विपक्षी नेता ली अगाडि

सियोल । निर्वाचन हुन एक हप्ताभन्दा कम समय बाँकी रहँदा मङ्गलबार जारी गरिएको ग्यालप सर्वेक्षणले दक्षिण कोरियाका विपक्षी नेता ली जे–म्युङ देशको अर्को राष्ट्रपति बन्ने दौडमा स्पष्ट अग्रस्थानमा रहको देखाएको छ । दक्षिण कोरियालीहरूले जुन ३ मा मतदान गर्नेछन् ।
निर्वाचनले पूर्व नेता युन सुक योलले डिसेम्बरमा नागरिक शासन निलम्बन गर्ने असफल प्रयासले सुरु गरेको महिनौँको राजनीतिक उथलपुथललाई टुङ्ग्याउनेछ । ग्यालपले डेमोक्रेटिक पार्टीका नेता लीलाई स्पष्ट अग्रस्थानमा राखेको छ । ४९ प्रतिशत उत्तरदाताले उनलाई सर्वोत्तम उम्मेदवारका रूपमा हेरेको बताएका छन् । सत्तारुढ पिपुल पावर पार्टीका पूर्व श्रममन्त्री किम मुन–सू ३५ प्रतिशत मतका साथ पछाडि छन्।
दक्षिण कोरियाली युवाहरूलाई लक्षित गरेर चुनावी अभियान चलाइरहेको रिफर्म पार्टीका ली जुन–सिओक ११ प्रतिशत मतसहित तेस्रो स्थानमा हुनुहुन्छ । ग्यालप कोरियाद्वारा फोनमार्फत सञ्चालित यो सर्वेक्षणले सप्ताहन्तमा एक हजार चार उत्तरदाताको सर्वेक्षण गरेको थियो, जसमा तीन दशमलव एक प्रतिशत अङ्कको त्रुटि सीमा रहेको बताइएको छ ।
सर्वेक्षणले राजधानी सियोल, इन्चियन र ग्योङ्गीका सबैभन्दा बढी जनसङ्ख्या भएका क्षेत्रहरू सुरक्षित गर्दै डेमोक्रेटिक पार्टीका नेताले लगभग सम्पूर्ण देशमा सहजै जित हासिल गर्ने सुझाव दिएको छ । तेस्रो स्थानमा रहेका ली जुन–सिओकले वामपन्थी ली जे–म्युङलाई जित्नबाट रोक्नका लागि आफ्नो राष्ट्रपतीय उम्मेदवारी त्याग्न कन्जरभेटिभहरूको बढ्दो दबाबको सामना गर्नु परेको छ । तर निर्वाचनको दिन मतपत्रमा आफ्नो नाम ‘स्पष्ट रूपमा देखिने’ भएको घोषणा गर्दै ४० वर्षीय उनी दृढ छन् ।
मङ्गलबारको सर्वेक्षणले ली जे–म्युङले एकीकृत कन्जर्भेटिभ उम्मेद्वारको सामना गरे पनि जित्ने सङ्केत गरेको छ । सर्वेक्षणमा सहभागी करिब पाँच प्रतिशतले आफूसँग कुनै प्राथमिकता नभएको वा सबैभन्दा राम्रो उम्मेदवार को हुनेछ भन्ने थाहा नभएको बताएका छन् । यो सर्वेक्षण अर्को सप्ताहको मतदानअघि जारी गरिने अन्तिम सर्वेक्षणहरूमध्ये एक हो, किनभने त्यसपछि सर्वेक्षण प्रकाशन गर्न प्रतिबन्ध छ ।
प्रतिक्रिया