शनिबार, जेठ २५, २०८२

हिमालको संरक्षण हाम्रो साझा कर्तव्य होः पर्यटनमन्त्री पाण्डे

नेपालखोज २०८२ जेठ १४ गते १५:११

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हिमालको संरक्षण हामी सबैको साझा कर्तव्य भएको बताएका छन् ।

यहाँ आज आयोजना भएको ‘अन्तरराष्ट्रिय एभरेस्ट समिटर्स समिट–२०२५’ को उद्घाटन गर्दै उनले हिमाली संस्कृतिको संरक्षण र भविष्यका पुस्ताका लागि हिमाल सुरक्षित राख्नुपर्ने आवश्यकता औँल्याए ।

मन्त्री पाण्डेले भने, हामी केवल संसारको शिखर चुम्नेहरूलाई बधाई दिन यहाँ आएका होइनौँ, उनहरूको साहस, समर्पण र दृढताप्रति सम्मान प्रकट गर्न पनि यहाँ छौँ । उनले शेर्पा समुदाय, पथप्रदर्शक, उद्धार टोली र हिमाली क्षेत्रमा निरन्तर खटिएर सेवा पुर्याउने सबैप्रति विशेष सम्मानसमेत व्यक्त गरे ।

उनहरूको समर्पणले पर्वतीय यात्रालाई सुरक्षित, प्रकृतिप्रति संवेदनशील र अझ अर्थपूर्ण बनाएको छ, मन्त्री पाण्डेले भने । सरकार पर्वतारोहणको प्रवद्र्धनका लागि पूर्वाधार, तालिम र वातावरणीय सुरक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको मन्त्री पाण्डेले बताए । साथै पर्वतीय पर्यटनसँगै स्थानीय समुदायको समृद्धि र जीवनस्तरमा सुधार ल्याउन प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

मन्त्री पाण्डेले हिमालयलाई केवल भौगोलिक पर्वत नभई सभ्यता, संस्कृति र सहजीवनको सेतुका रूपमा चित्रित गर्दै भने, यी हिमालहरू पवित्र छन् र तिनीहरूलाई सुरक्षित राख्नु हाम्रो साझा जिम्मेवारी हो ।

जलवायु परिवर्तन र ‘ग्लोबल वार्मिङ’का कारण हिमाली भविष्य सङ्कटमा परेको उल्लेख गर्दै उनले भने, अब समय आएको छ, हामीले सावधानी, बुद्धिमत्ता र सम्मानपूर्वक यी हिमालहरूको संरक्षण गर्न आवश्यक छ ।

उनले सम्पूर्ण मानव समाजलाई हिमालप्रतिको प्रतिबद्धता नवीकरण गर्न प्रेरणा दिने विश्वास व्यक्त गरे । उनले सम्मेलनका क्रममा स्वदेशीदेखि विदेशी पर्वतारोहीलाई सम्मानसमेत गरेका थिए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले नेपालको शान र पहिचानका रुपमा रहेको सगरमाथासहितका हिमाल आरोहणमार्फत साहसिक गन्तव्यको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया