यू–१६ सुदूरपश्चिम छनोट : कैलाली फाइनलमा, उपाधि भिडन्त डडेल्धुरासँग

बैतडी । एसीसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को सुदूरपश्चिम छनोटमा कैलालीले फाइनलमा स्थान सुरक्षित गरेको छ । समूह ‘बी’ को लिग चरणको आफ्नो अन्तिम खेलमा कञ्चनपुरलाई चार विकेटले हराउँदै कैलाली अपराजित रहेर फाइनलमा प्रवेश गरेको हो ।
कञ्चनपुरले दिएको १०५ रनको लक्ष्य कैलालीले २० ओभरमा छ विकेटको क्षतिमा भेट्टायो । जसमा अविरल विकले सर्वाधिक ३८ र धीरज देउवाले १८ रनको योगदान गरे । कञ्चनपुरका रितेश विष्ट र जगदीश विष्टले २/२ विकेट हात पारे । यसअघि पहिला ब्याटिङ गरेको कञ्चनपुरले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १०४ रन जोड्यो ।
उसका आयुश चन्दले सर्वाधिक २५ रन बनाए । कैलालीका रोशन रावलले तीन विकेट लिए । उनी प्लेयर अफ द म्याचसमेत चुनिएका स्कोरर नुरेन अन्सारीले जानकारी दिए । कैलालीले अब उपाधिका लागि बुधबार समूह ‘ए’ को विजेता डडेल्धुरासँग खेल्नेछ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा जेठ ८ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल क्रिकेट सङ्घमा आबद्ध सुदूरपश्चिमका आठ जिल्लाको सहभागिता रहेको थियो ।
छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदेशको टोलीमा समावेश गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका प्रशिक्षक दीपेन्द्रबहादुर चन्दले बताए । एशियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार नेपाल क्रिकेट सङ्घले एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को छनोटका लागि यही महिनामा राष्ट्रिय प्रतियोगिता गर्दैछ । -रासस
प्रतिक्रिया