करिब १ सय ५६ किलो गाँजा सहित दुई जना पक्राउ

महोत्तरी । बर्दिबास नगरपालिका–१ शुभ स्वस्तिक हस्पिटल अगाडिबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५६ किलो ५५ ग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सर्लाही हरिवन नगरपालिका–५ घुर्कोली बस्ने ३५ वर्षीय लालबाबु साह र सोही नगरपालिका–३ बुद्दचोक बस्ने २१ वर्षीय अभिषेक परियार रहेका छन् ।
इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले बा.११ च ३४९४ नम्बरको स्कारपियोलाई जाँच गर्ने क्रममा स्कारपियोमा लुकाई छिपाई राखेको ३० वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी स्कारपियो चालक लालबाबु र स्कारपियोमा सवार अभिषेकलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
झापाको दमक नगरपालिका–३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय किरण राई र भारत बिहार राज्य पुर्निया नगानिगम पुर्निया सिटी–३४ बस्ने ३६ वर्षीय मनिष कुमार गुप्ता रहेका छन् । प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरीले राईको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।
यसैगरी झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय मिलिग्राम सहित शिवसताक्षी नगरपालिका–९ बस्ने २५ वर्षीय बिरहाङ लेछर्वो लिम्बुलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेकोउ छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानीट्याङ्कीबाट नेपालतर्फ सिटिसफारीमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ४० मिलिग्राम सहित कन्काई नगरपालिका–५ केक्राचोक बस्ने २५ वर्षीय रूपक गडतौलालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानीट्याङकीबाट नेपालतर्फ आउँदै गरेको मे.५ प ९६४५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैयाबाट अवैध लागूऔषध गाँजा करिब ११ किलोग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका–९ बस्ने ३८ वर्षीया भुमाया तामाङ र ४५ वर्षीया सन्तमाया तामाङ रहेका छन् । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले नारायणघाटबाट कलैयातर्फ जाँदै गरेको ना. ५ ख ३६७८ नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाह गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम १ सय ४० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–२१ बस्ने २१ वर्षीय कस्मिन सिंह र सोही उपमहानगरपालिका–९ बस्ने २० वर्षीय समिर खान रहेका छन् । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.१० प ४९३६ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी बाँकेको नेपालगंज उपमहानगरपालिका–८ बाल्मिकी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २७ ग्राम ४ सय ३० मिलिग्राम र १ थान डिजिटल तराजु सहित सोही ठाउँ बस्ने २५ वर्षीय सरीफ कवाडियालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय १० ट्याब्लेट सहित मकवानपुर हेटौंडा उपमहानगरपालिका–४ बस्ने २९ वर्षीय जय कुमार बल (तामाङ) लाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले नारायणगढबाट पोखरातर्फ आउँदै गरेको ग.२ ख १९९४ नम्बरको माईक्रोमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
बर्दियाको बाँसगढी नगरपालिका–१ चेपाङ रत्नराजमार्गबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जुम्ला कनकासुन्दरी गाउँपालिका–४ धोबीघाट बस्ने २४ वर्षीय नरेश बिसी र तातोपानी गाउँपालिका–२ डाँङ्गीबाडा बस्ने २८ वर्षीय मन बहादुर खत्री रहेका छन् । प्रहरी चौकी चेपाङबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ जाँदै गरेको भे.१ ज ८९८ नम्बरको भ्यानलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी भ्यान चालक मन बहादुर र सहचालक नरेशलाई पक्राउ गरेको हो ।
कास्कीको पोखरा महानगरपालिका–५ मालेपाटनबाट नियन्त्रित लागूऔषध ब्रुप्रेनोर्फिन १ सय ६७ एम्पुल, डाईजेपाम १ सय ६८ एम्पुल र फेनारगन १ सय ६६ एम्पुल सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्वत कुस्मा नगरपालिका–४ बस्ने २६ वर्षीया सीमा दर्जी र सोही नगरपालिका–६ बस्ने २६ वर्षीय आशिष श्रेष्ठ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले पोखरा महानगरपालिका–५ मालेपाटनस्थित उनीहरूले सञ्चालन गरेको पसलमा लुकाई छिपाई राखेको उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
इलामको चुलाचुली गाउँपालिका–४ सयपत्री टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ८ सय ५० मिलिग्राम र नगद ३३ हजार ८ सय ५० रूपैयाँ सहित सोही गाउँपालिका–४ बस्ने २० वर्षीय अन्जन राईलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पेल्टिमारीबाट खटिएको प्रहरीले प्र.१–०१–०१३ प ५४८३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
फोटो राख्ने
युके र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–७ बस्ने कञ्चनपुर पुनर्वास नगरपालिका–२ घर भएका ३६ वर्षीय एलिया तामाङ र काठमाडौं महानगरपालिका–१६ बस्ने दोलखा बैतेश्वर गाउँपालिका–६ घर भएका ४० वर्षीय कृष्ण कुमार घिमिरे रहेका छन् ।
एलियाले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ र कृष्णले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले एलियालाई काठमाडौं महानगरपालिका–१ बाट र कृष्णलाई काठमाडौं महानगरपालिका–२६ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
हत्या गरेको अभियोगमा पक्राउ
पाल्पा तानसेन नगरपालिका–१ ठेगाना भएकी ३३ वर्षीया दिपा बस्याल र उनकै छोरीहरू ७ वर्षीया स्नेहा बस्याल र ४ वर्षीया हिमानी बस्यालको हत्या गरेको अभियोगमा बुटवल उपमहानगरपालिका–११ मिलिजुली पथ बस्ने ३५ वर्षीय सुजन कोइरालालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सुजनले पूर्व श्रीमती दीपालाई आफ्नै घरमा बोलाई आपसी विवादको क्रममा धारिलो हतियार र हथौडा प्रहार गरी उनीहरूको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जानकारी प्राप्त इलाका प्रहरी कार्यालय बुटवल, वडा प्रहरी कार्यालय बुटवल र अस्थायी प्रहरी चौकी देवीनगरबाट प्रखटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया