‘सरकारले सपना चकनाचुर पार्यो’ भन्दै विद्यार्थी आन्दोलित
‘सपनामा सरकारले ब्रेक लगायो’

भक्तपुर । कोरियामा छात्रवृत्तिमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरुले हालै रोक लगाइएको एनओसी (No Objection Certificate) विरुद्ध भक्तपुरस्थित एनओसी कार्यालय अगाडि प्रदर्शन गरेका छन्।
विद्यार्थी भिसामा दक्षिण कोरिया जान अब एनओसी नदिइने सरकारको निर्णयपछि दर्जनौं प्रभावित विद्यार्थीहरु ‘सरकारको ढिलासुस्तीले हाम्रो सपनामा ब्रेक लागेको छ’ भन्दै मंगलबार प्रदर्शनमा उत्रिएका हुन्।

‘एनओसी रोकिएको दिनदेखि हामी निदाउन छोड्यौं, छात्रवृत्ति विदेशबाट तर अवरोध आफ्नै सरकारबाट’ जस्ता नारा लेखिएका ट्याम्प्लेट बोकेर उनीहरुले विरोध जनाएका थिए।
प्रदर्शनकारी विद्यार्थीहरुको भनाइमा, उनीहरु कोरियाको सरकारले दिएको पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न पाइने अवसरबाट वञ्चित हुने खतरा छ, जुन अब एनओसी रोकिएपछि असम्भवजस्तै बन्न थालेको छ।
एक विद्यार्थीले भने, “हामीले महिनौं मेहनत गरेर छात्रवृत्तिका लागि तयारी गरेका थियौं। कोरियाको विश्वविद्यालयबाट स्वीकार पत्र आइसकेको छ, तर अब सरकारले एनओसी नदिने भन्यो भने हाम्रो सपना यतै रोकिने भयो।”

शिक्षा मन्त्रालय अन्तर्गतको नियमन तथा अनुगमन महाशाखाले केही समय अघि विद्यार्थी भिसामा कोरिया जानेलाई एनओसी नदिने निर्णय गरेको थियो। सरकारले यस्तो निर्णय किन गर्यो भन्नेबारे स्पष्ट जानकारी सार्वजनिक नभएको भन्दै विद्यार्थीहरुले तत्काल निर्णय फिर्ता लिन आग्रह गरेका छन्।
प्रतिक्रिया