वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं टोखा नगरपालिका-५ बस्ने सल्यान कपुरकोट गाउँपालिका-५ घर भएका ३६ वर्षीय टोपेन्द्र राना मगर, काठमाडौं महानगरपालिका-६ बस्ने सोलुखुम्बु दुधकुण्ड नगरपालिका-५ घर भएका ३९ वर्षीय ङिमा शेर्पा र काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ बस्ने काभ्रे बनेपा नगरपालिका-२ घर भएका ४० वर्षीय शिवराम घिमिरे रहेका छन् ।
पक्राउ मध्ये टोपेन्द्रले जापान पठाइदिन्छु भन्दै २ जना पीडितबाट ४२ लाख ३० हजार रूपैयाँ, ङिमाले पोल्याण्ड पठाइदिन्छु भन्दै २ जना पीडितबाट ४ लाख २० हजार रूपैयाँ र शिवरामले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले टोपेन्द्रलाई काठमाडौं टोखा नगरपालिका-५ बाट, ङिमालाई काठमाडौं महानगरपालिका-४ बाट र शिवरामलाई काठमाडौं महानगरपालिका-३१ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
प्रतिक्रिया