पहिला देशलाई आर्थिक रुपमा सम्पन्न बनाउनुपर्छ : सांसद भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीले आफ्नै स्रोत-साधनको उपयोग गर्दै देशलाई आर्थिक रुपमा सम्पन्न बनाउने बाटो अंगिकार गर्नुपर्नेमा जोड दिएका छन् । पूर्वमन्त्री भण्डारीले भनेका छन्, पर्यटन, जल, जमिन, भौगोलिक बनावट, जडीबुटी र कृषिलगायतका हिसाबले हिसावले धनी छ, तर यसको सदुपयोग हुन सकेको छैन ।
देशले गणतन्त्र प्राप्त गरेको आज १८ वर्ष भएको छ । तर, व्यवस्था फेरिएपनि जनताको अवस्था उस्तै छ । यो अवधिलाई फर्केर हेर्ने हो भने देशको आर्थिक अवस्थामा कुनै फरक आएको छैन । देशको बाह्य सम्वन्धमा तात्विक सुधार हुन सकेको छैन । त्यसकारण जबसम्म जनताको आवस्थामा परिवर्तन आउँदैन, तबसम्म गणतन्त्र दिवस मात्रै मनाउनुले कुनै अर्थ राख्छ जस्तो मलाई लाग्दैन । हामी लोकतान्त्रिक प्रणालीमा छौँ । प्रजातान्त्रिक प्रणालीमा जो कोहीले पनि फरक मत राख्न पाउँछ । अहिले देशको राजनीतिक व्यवस्थाको विकल्प खोज्न सबै जनतालाई आधिकार छ । कसैले परक मत राख्दैमा त्यसको खेदो गर्नु हुँदैन । लोकतन्त्रमा जनताका असन्तुष्टिलाई सरकार र राजनीतिक दलले अन्यथा लिनु हुँदैन ।
संविधान पूर्ण छैन । संविधान जारी गर्ने बेलामा पनि धेरै विमतिहरु थिए । संविधानमा जनताका धेरै सवाल समावेश हुन सकेको छैन । यो संविधान जनताको मत विपरीत जारी गरिएको छ । त्यतिबेला राजनीतिक दलको सम्झौताका रुपमा यो संविधान जारी भएको हो । संविधान जारी गर्ने बेलामै राजनीतिक दलहरुले गल्ती गरेका छन् । अब यसलाई सच्याउनको निम्ति पनि संविधान संशोधन जरुरी छ । संविधान जारी गर्ने समयमा छुटेका जनताका सवाल र जारी भएको यो दश वर्षको अवधिलाई गहिरो गरी समीक्षा गरेर संशोधन गर्न जरुरी छ । संविधान संशोधनको विषयलाई सरकार र मुख्य राजनीतिक दलले सामान्य रुपमा लिनु हुँदैन ।
सरकार गठनका क्रममा कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) लगायत सात राजनीतिक दलबीच संविधान संशोधन गर्ने सहमति भएको छ । तर आज सरकार बनेको ११ महिनासम्म पनि संविधानको विषय टुङ्गो लागेको छैन । संशोधनको नाममा जनतालाई भुलभुलैमा पार्नु हुँदैन । सरकारले मुख्यगरी जनताको भावनाअनुसार संविधानको विषय ल्याउनुपर्छ । संशोधन सरकारले बहुमतको आधारमा गर्नु हुँदैन । जसरी जारी गर्ने बेलामा सबै राजनीतिक दलको बीचमा सहमति भएको थियो । त्यसरी नै संशोधनमा पनि जनताको भावना अुनसार सबै दलको सहमति हुनुपर्छ ।
अहिलेको सङ्घीय संरचना अत्यन्त महङ्गो छ । सङ्घीयताबारे पनि गहिरो गरी समीक्षा गर्नुपर्छ । सङ्घीयताको नाममा अनावश्यक खर्च भइरहेको छ । युवा शक्ति विदेश पलायन हुनु देशको लागि बिडम्वनाको अवस्था हो । देशभित्र रोजगारी नपाएर मात्रै होइन । रोजगारी पाएका निजामति सेवा, नेपाल प्रहरी, नेपाली सेनापनि जागिर छोडेर विदेश पलायन हुँदै छन् । कोही अध्ययनको निम्ति भन्दै विदेश पलायन भएका छन । उनीहरुलाई देशभित्रै रोजगारी दिने, व्यवहारिक शिक्षा दिने र उपयुक्त सेवा सुविधा दिने विषयमा सरकारको ध्यानै जान सकेको छैन ।
वर्तमान सरकार मात्रै होइन, यसअघिका सरकारको पनि पर्याप्त ध्यान पुगेन । देश सुधार गर्न पहिला राजनीतिक दलमा सुधार जरुरी छ । राजनीतिक दल एकले अर्कालाई आरोप लगाए मात्रै हुँदैन । हामी नेताहरु सच्चिन जरुरी छ । हामी नेताहरु अहङ्कारी र गैरजिम्मेवार भएका छौँ । हामीमा म जस्तो कोही छैन भन्ने भ्रम पैदा भएको छ । यी सबै भ्रमबाट मुक्त भएर दल र दका नेताहरु सच्चिनुपर्ने अहिलेको आवश्यकता हो । त्यसपछि मात्रै देश बन्छ ।
म नै सर्वेसर्वो भन्ने भ्रमबाट हामी मुक्त हुनुपर्छ । नेताले आफ्नो लागि होइन, जनताको निम्ति काम गर्नुपर्छ । हामी नेताहरु जनताप्रति उत्तरदायि हुनुपर्छ । जिम्मेवार हुनुपर्छ । सरकार र राजनीतिक दलले जनताको पक्षमा काम गर्नुपर्छ । सबैभन्दा पहिला देशलाई आर्थिक रुपमा सम्पन्न बनाउन जरुरी छ । त्यसको निम्ति आफ्नै देशको पर्यटन विकासमा जोड दिनुपर्छ ।
बन्द भएका र रुग्ण अवस्थामा रहेका उद्योग-कलकारखानाको सञ्चालन गर्नुपर्छ । हामीसँग पर्याप्त जल छ । त्यसको भरपूर उपयोग गर्दै रोजगारी सिर्जना गर्नुपर्छ । अहिलेसम्म देश विकास नहुनुमा नेताहरुले नैतिक जिम्मेवारी लिनुपर्छ । राजनीतिक दलका नेताले निर्वाचनको समयमा जनतासामु राखेका प्रतिबद्दता पूरा गर्ने गरी काम गर्नुपर्छ ।
अहिले पनि सरकारले ठोस नीति र कार्यक्रम बनाउन नसक्दा विकासका योजना मलपत्र परेका छन् । मुख्य कुरा यो वर्तमान सरकारले विकासका योजनाहरू समयमै सम्पन्न गर्न नसक्नुको कारण र समाधानका उपायहरू खोज्न जरुरी छ । कुनैपनि निर्माणका कामहरु समयमै सम्पन्न गर्न जरुरी छ । सुशासनको निम्ति सरकारले भ्रष्टाचारीलाई कडा कारवाही गर्नुपर्छ । आफ्नो पार्टीको मान्छे हो भनेर कुनैपनि सरकारले आफ्ना नेता-कार्यकर्ताको संरक्षण गर्नु हुँदैन । तर, अहिले यहाँ त्यही भइरहेको छ । भ्रष्टाचार अन्त्य गर्दै देशमा सुशासन कायम गर्न आम नागरिकको पनि महत्वपूर्ण भूमिका हुन्छ ।
(सांसदसँग रासस संवादका लागि नेता भण्डारीसँग संविधान कार्यान्वयन र संशोधन, सङ्घीयता कार्यान्वयनको अवस्था, देशको आर्थिक विकासमा राजनीतिक दलको भूमिका, तथा मुलुकको समसामयिक विषयमा राससका समाचारदाता सुशील दर्नालले गरेको कुराकानीको सम्पादित अंश) रासस
प्रतिक्रिया