शनिबार, जेठ १८, २०८२

हत्या गरेको अभियोगमा पक्राउ

नेपालखोज २०८२ जेठ १७ गते १५:५२

सोलुखुम्बु । महाकुलुङ गाउँपालिका–२ चङ्खीदो बस्ने ४० वर्षीय प्रेम कुमार कुलुङ राईको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २६ वर्षीय रघु कुलुङ राईलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

रघुले आफ्नै घरमा प्रेम कुमारलाई बिहीबार राति बाँसको भाटा र लाठ्ठी प्रहार गर्दा गम्भीर घाइते भई उपचारको लागि महाकुलुङ आधारभूत अस्पताल बुङ लगिएकोमा उनको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बुङबाट खटिएको प्रहरीले रघुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध गाँजा बरामद

बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्रबाट अवैध लागूऔषध गाँजा करिब २ सय किलोग्राम गए राति प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले सप्तकोशी नदीको किनारबाट ८ वटा प्लाष्टिकको बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौंको नागार्जुन नगरपालिका–६ टेम्पो पार्कस्थित सडकमा महाँकालबाट सितापाईलातर्फ आउँदै गरेको बा.प्र.०१–००२ ज ७०५७ नम्बरको ईभि माइक्रोबाट खसेर माइक्रोमा सवार नागार्जुन नगरपालिका–६ रामकोट बस्ने उदयपुर कटारी नगरपालिका–७ घर भएकी ३८ वर्षीया कोपिला परियारको शुक्रबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको मनमोहन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१ अम्रास्थित सडकमा सल्लिबजारबाट बालुवा संग्रहीतर्फ जाँदै गरेको भे. १ ह ९९३० नम्बरको अटो र भे.१० प ८३८३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार बनगाड कुपिण्डे नगरपालिका–५ बस्ने २१ वर्षीय नबिन रानाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रौतहटको देवाही गोनाही नगरपालिका–६ कर्कचस्थित सडकमा नारायण चोकबाट कटहरीयातर्फ जाँदै गरेको मधेश प्रदेश ०३–०२१ प ०९९० नम्बरको मोटरसाइकलबाट लडेर मोटरसाइकलमा सवार कटहरीया नगरपालिका–५ बलिरामपुर टोल बस्ने २५ वर्षीया रन्जना कुशवाहाको बिहीबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको न्यूरो अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

विभिन्न धनमाल चोरी

तारकेश्वर नगरपालिका–६ लोलाङ बस्नेतटार बस्ने ४८ वर्षीय शुभराम बाँनियाको घरबाट नगद, सुन तथा चाँदीका गरगहना र मोबाइल समेत गरी करिब ३ लाख ३२ हजार ९ सय ८५ रूपैयाँ बराबरको धनमाल गए राति चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया