शनिबार, जेठ १८, २०८२

मुस्ताङमा बृहत् साइकल तथा घोडा र्‍याली उत्सव

नेपालखोज २०८२ जेठ १७ गते १७:४२

मुस्ताङ । पर्यटन प्रवर्द्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि मुस्ताङको घरपझोङ गाउँपालिकामा आज संयुक्त साइकल तथा घोेडा र्‍याली आयोजना गरिएको छ ।

जलवायु सङ्कटले समग्र मानव सभ्यतामै प्रतिकूल असर पुर्‍याएको अवस्थामा मुस्ताङको घरपझोङ गाउँपालिकाले पहिलो पटक प्रथम साइकल तथा घोडा र्‍याली आयोजना गरिएको हो ।

घरपझोङ गाउँपालिकाको आयोजना तथा साइकल सिटी पोखराको संयोजनमा देशभरका साइकलयात्री टोली मुस्ताङमा यहाँ सहभागी भएका गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए । उनका अनुसार पहिलो पटक आयोजना गरिएको साइकल र्‍यालीमा २३ जिल्लाका ३६२ जनाले उत्साहजनक रूपमा सहभागिता जनाएका छन् ।

समुन्द्री सतहदेखि तीन हजार मिटर अग्लो उचाइमा पदयात्रा गर्न पाउँदा सहभागीहरू निकै नै उत्साहित भएका छन् । कपिलवस्तुबाट सहभागी वाराङ्गा साइकल राइडर विष्णुप्रसाद सापकोटाले मुस्ताङमा पहिलो पटक साइकलयात्रा गर्न आएको जानकारी दिए । यहाँको पर्यटन प्रवर्द्धन तथा वातावरण स्वच्छताका साथै साइकल संस्कृतिको विकासमा टेवा पुर्याउने गरी साइकल सिटी पोखराको समन्वयमा मुस्ताङ आइपुगेको उनले बताए ।

‘हिमालै हिमाल भएको मुस्ताङमा साइकल यात्रा गर्न पाउँनु अहोभाग्य हो । यति ठूलो कार्यक्रम यहाँ आयोजना हुँदा यहाँको पर्यटन संस्कृतिको विकासका साथै जलवायु सङ्कट न्यूनीकरण गर्न धुवाँ, धुलो र इन्धनरहित सवारीसाधन प्रयोगमा अभिप्रेरित गर्ने पनि हामीहरूको उद्देश्य हो’, राइडर सापकोटाले भने ।

साईकल चढ्ने संस्कृतिले मानवस्वास्थ्य सहयोग पुग्ने, कार्बन उत्पादन घटाउने र आर्थिक विकासमा समेत टेवा पुर्‍याउने साइक्लिङ क्लब नेपालगञ्जका सल्लाहकार रमेश मल्लले बताए । घोडा र साइकल संस्कृतिले पर्यावरण जोगाउन निकै ठूलो योगदान पुर्‍याउने मल्लको भनाइ छ ।

स्थानीय कर्म गुरुङले जलवायु सङ्कट न्यूनीकरणसँग जोडेर पर्यटन प्रवर्द्धन गर्ने यस खालको कार्यक्रमले महत्वपूर्ण सन्देश प्रवाह भएको धारणा राखे । ‘मुस्ताङमा महत्वपूर्ण चाडपर्व यार्तुङ, तिजी र धज्याङ पर्वहरूमा घोडा चढेर दौडने र तारो हान्ने खेल खेलिन्छ, यो हाम्रो संस्कृति र मौलिकता पनि हो’, उनले भने, ‘पछिल्लो समय जलवायु सङ्कटका कारण हिमालहरू निकै जोखिममा छन्, यसले यहाँको पारिस्थितिक प्रणाली र कृषि, पर्यटन र वातावरण क्षेत्रमा प्रत्यक्ष/अप्रत्यक्ष क्षति परिरहेको छ ।’

यसअघि गण्डकी प्रदेशसभा सदस्य विकल शेरचन र गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले प्रथम साइकल तथा घोडा ¥यालीको संयुक्त रूपमा उद्घाटन गरेका थिए । सहभागी टोलीलाई मुस्ताङकोे जोमसोम, ठिनी, ढुम्बा, छैरो, चिमाङ, मार्फा, स्याङ र पुथाङ एअरपोर्टका आमा समूह, क्लब र स्थानीयले स्वागत गरेका थिए ।

गाउँपालिकाअन्तर्गतका पाँचवटै वडाका गाउँ परिक्रमा गर्ने गरी कुल २५ किलोमिटर दूरी तय गरिएको थियो । र्‍याली पाँचवटै वडा परिक्रममा गरी गाउँपालिका कार्यालयमा पुगेर समापन भएको प्रमुख प्रशासकीय अधिकृत बेदहरि अधिकारीले जानकारी दिए । र्‍यालीमा ३६२ साइकल र ३० वटाभन्दा बढी घोडाको प्रयोग भएका थिए । रासस

प्रतिक्रिया