सभामुखद्वारा मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल

नेपालखोज २०८२ जेठ १६ गते १८:१७

काठमाडौं । सभामुख देवराज घिमिरेले सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग आगामी दिनमा संसदीय अभ्यासलाई थप चुस्त र व्यवस्थित गर्नेबारे छलफल गरेका छन्। उनले सदनलाई नियमित रूपमा सञ्चालन गर्ने वातावरण मिलाउन प्रमुख सचेतकलाई आग्रह गरे ।

सिंहदरबारस्थित संसद् सचिवालयमा भएको छलफलमा संसद्को आगामी बैठकको कार्यसूचीका विषयमा प्रमुख सचेतकले आफ्नो धारणा प्रस्तुत गरेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य सचेतक महेशकुमार बर्तौलाले जानकारी दिए ।

स-सना विषय उठाएर सदन सञ्चालन गर्न नदिने प्रवृत्तिले लोकतन्त्र र सदनलाई बलियो तुल्याउन नसक्ने बताउँदै मुख्य सचेतक बर्तौलाले यसबीचमा दलबीच हुने छलफल र परामर्शका आधारमा गत्यावरोध अन्त्य गर्ने विश्वास व्यक्त गरे ।

नेपाली कांग्रेसका श्यामकुमार घिमिरेले यही जेठ २० गतेदेखि बस्ने बैठकको क्यालेन्डर बनाउने विषयमा केन्द्रित रही छलफल भएको प्रतिक्रिया दिए । उनले भने, ‘प्रस्तुत बजेट र विनियोजन विधेयकलाई कसरी अघि बढाउने भन्ने विषयमै केन्द्रित रही छलफल भयो । कार्य व्यवस्था समितिको बैठकले यसलाई पारित गर्ने छ ।’

सदन सञ्चालन गर्ने सन्दर्भमा औपचारिक रुपमा छलफल नभएको बताउँदै उहाँले बजेट प्रस्तुत गर्ने विषयमा प्रमुख प्रतिपक्षले जिम्मेवार बोध गरेर सहजीकरण गरेकामा धन्यवादज्ञापन गर्दै पारित गर्ने विषयमा पनि सहयोग गर्ने विश्वास व्यक्त गरे ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डेले सभामुखले सदनको आगामी बैठकका लागि कार्यतालिका निर्माण तयारी सम्बन्धमा रायसुझाव लिएकाे बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संसद्मा प्रस्तुत बजेट र विनियोजन विधेयक विधेयकमाथिको छलफललाई क्यालेन्डर बनाएर अघि बढाउने विषयमा कुराकानी भएको बताए ।

प्रतिक्रिया