आइतबार, जेठ १९, २०८२

आणविक कार्यक्रमबारे अष्ट्रियाको रिपोर्ट ‘भ्रामक’ : इरान

नेपालखोज २०८२ जेठ १७ गते २२:००

काठमाडौं । तेहरानले आणविक हतियार प्राप्त गर्न खोजेको भन्ने अष्ट्रियाली गुप्तचर निकायको रिपोर्टलाई ‘भ्रामक’ भएको ठहर गर्दै इरानले शुक्रबार इरानका लागि अष्ट्रियाका कार्यवाहक राजदूतलाई सोधपुछका लागि पत्राचार गरेको छ ।

तेहरानले आफ्नो आणविक कार्यक्रमबारे संयुक्त राज्य अमेरिकासँग वार्ता गरिरहेको बेला यो विवाद उत्पन्न भएको हो । अष्ट्रियाको घरेलु गुप्तचर सेवा (डीएसएन)ले विश्वव्यापी खतरासम्बन्धी आफ्नो वार्षिक प्रतिवेदनमा इरानको ‘आणविक हतियार विकास कार्यक्रम राम्रोसँग अघि बढेको’ बताएको छ ।

संयुक्त राज्य अमेरिका, इजरायल र अन्य पश्चिमी देशले बारम्बार इरानले आणविक हतियार प्राप्त गर्न खोजेको आरोप लगाउँदै आएका छन् । इरानले उक्त दाबीको खण्डन गर्दै नागरिक प्रयोजनका लागि मात्र आणविक कार्यक्रम अघि बढाइरहेको तर्क गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का अनुसार इरान विश्वको एक मात्र देश हो जसले गैर-आणविक हतियारका लागि भन्दै ६० प्रतिशतसम्म युरेनियम संवद्र्धन गरेको छ । यो दर आणविक हतियारका लागि आवश्यक ९० प्रतिशतको सीमाभन्दा केही कम छ तर सन् २०१५ मा विश्व शक्तिराष्ट्रसँगको सम्झौताअन्तर्गत निर्धारित ३.६७ प्रतिशतको सीमाभन्दा निकै माथि छ ।

शुक्रबार इरानको विदेश मन्त्रालयले उक्त प्रतिवेदनमा सम्प्रेषित ‘भ्रामक जानकारी’ को निन्दा गर्दै अष्ट्रिया सरकारसँग स्पष्टीकरण मागेको थियो । इरानको सरकारी समाचार संस्था इरनाका अनुसार इरानले तेहरानस्थित अष्ट्रियाका कार्यवाहक राजदूत माइकला पाचेरलाई विदेश मन्त्रालयमा बोलाएर आरोपप्रति इरानको कडा विरोध जनाएको छ ।

बैठकमा मन्त्रालयले ‘अष्ट्रियाको प्रतिवेदन आइएईएका थुप्रै प्रतिवेदनसँग पूर्णरूपमा विरोधाभास रहेकोमा जोड दिएको’ छ । अष्ट्रियाको राजधानीमा मुख्यालय रहेको आइएईएले आगामी दिनमा इरानको आणविक गतिविधिको आफ्नै समीक्षा प्रकाशित गर्ने जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१५ मा तेहरानसँग भएको आणविक सम्झौताबाट हात झिकेपछि इरान र संयुक्त राज्य अमेरिकाले तेहरानको आणविक कार्यक्रमबारे सम्झौता गर्न ओमानी मध्यस्थताको प्रयास गरिरहेका छन् ।

गत साता रोममा भएको छलफलपछि इरान र अमेरिकाबीचको अर्को बैठकका लागि कुनै मिति तय गरिएको छैन ।

बिहीबार विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँग सम्झौता हुन लागेकोमा आफू विश्वस्त नभएको बताउनुभएको थियो । ट्रम्पले बुधबार दुवै पक्ष ‘समाधानको निकै नजिक’ रहेको बताएपछि अराघचीको यो भनाइ आएको थियो ।

प्रतिक्रिया