विनाकारण दण्ड नदिने भगवान् शनि !

नवग्रहमध्ये सबैभन्दा शक्तिशाली ग्रह शनिदेवलाई मानिन्छ । कालो वस्त्र पहिरिने रात्रि बलशाली भएका शनिको बार शनिबार हो । शनिको दशवटा प्रसिद्ध नाम यम, बभ्रु, पिप्पलाश्रय, कौणस्थ, सौरी, शनैश्चर, कृष्ण, रोद्रान्तक, मन्द र पिंगल हुन् ।
यस्तै, पौराणिकशास्त्रका अनुसार अन्य प्रसिद्ध नाम यमागज, रविपुर, सूर्यपुत्र, दापातंयज, अकैसुवन, असित सौकि, नीलकाय, क्रूर कुशाग, कपिलाक्ष र पंगु पनि हुन् । शनि देवले आफ्नो शुभ प्रभाव विशेष गरेर कानुन, राजनीति र अध्यात्मका विषयमा दिने गर्छन् ।
महादेवको वरदान अनुसार सबै देवता र ग्रहमध्ये सर्वश्रेष्ठ र शक्तिशाली भई एउटै मात्र न्यायाधीश र दण्डाधिकारी हुन सकेका शनि देवको दुःख, कष्ट र दर्दनाक कहानी उल्लेखनीय छ । ब्रह्मपुराण अनुसार शनि बालककालदेखि नै भगवान् श्रीकृष्णका अनन्य भक्त थिए ।
ज्योतिषशास्त्र अनुसार शनि अकाल मृत्युका कारक हुन् । पुत्र जन्मेको समयमा पुत्रको चिना हेर्दा रावणले रिसाएर शनिको खुट्टामा गदा प्रहार गरिदिन्छन् । त्यसैवेलादेखि शनि अपांग हुन्छन् । त्यसै बेलादेखि नै शनेश्चर अर्थात् बिस्तारै हिँड्ने शनैश्चर हुन गए । शनि पनि कम छैनन्, उनले पूरै लंकामा क्रोधित वक्रदृष्टिले हेरिदिन्छन् । पछि हनुमानले लंका दहन गरी कालो बनाइदिन्छन् ।
शनिको दशा लाग्दा मानिसहरूले अत्यन्तै दुःख भोग्नुपर्ने हुन्छ । शनिको वक्रदृष्टि नलागोस् भनी मानिसहरूले चिन्ता लिइरहेका हुन्छन् । हुन त सबै नवग्रहको आ–आफ्नै विशेषता छन् । शुभ–अशुभ प्रभाव छन् तर यी सबैमध्ये शनि ग्रह यस्ता ग्रह हुन् जसका श्रीमतीहरूको नाममा पाठ जप गरेमा शनि प्रशन्न हुन्छ । त्यसैले शनिका श्रीमतीहरूको नाम यस प्रकार उल्लेख गरिएको पाइन्छ :
ध्वजिनी , धामिनी चैब कंकाटी कलह प्रिया ।
कलही, कंटकी चैब ज्वालामुखी सुलोचना ।।
शनि पत्याश्च बामनि प्रत सत्यम् यः पठेत ।
तपस्या शनैश्चरी पीडा न भविस्यंति ।।
यसरी शनिका पत्नीहरूको नाम लिँदै प्रार्थना गरी पाठ गर्नाले शनिले पीडा नदिने कुरा पनि शास्त्रमा उल्लेख गरिएको छ ।भक्तहरूलाई अभयदान दिने, बिघ्न नाश गर्ने शनिदेवसँग परिचित भए पनि मानिसहरू शनिदेखि डराइरहन्छन् । मानिसहरूले शनिदेव घातक हुन भनी सम्झिरहन्छन् । वास्तवमा यो कुरा उचित छैन । किनभने शनिदेवलाई ज्योतिष दृष्टिकोणले न्याय गर्ने देवताको रूपमा लिइएको छ । अर्थात् न्यायाधीश । न्यायाधीशले न्याय मात्र गर्छ । पक्षपात गर्दैन ।
कसैलाई पनि विनाकारण दण्ड दिँदैनन् । शनिले त कुन मानिसको कस्तो कर्म छ त्यस्तै फल प्रदान गरिरहन्छन् । असल कर्म गर्नेहरूलाई ऐश्वर्य, धनधान्य, समृद्धि, यश–कीर्ति प्रदान गरिरहन्छन् भने नराम्रो खराब कर्म गर्नेहरूलाई दुःख, अभाव, दरिद्रता जस्ता कष्ट दिइरहन्छन् ।
प्रतिक्रिया