राष्ट्रियस्तरको खुला शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने

काठमाडौं । प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा यही जेठ २४ गते ‘प्रज्ञा स्मृति प्रथम महिला तथा पुरूष राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता’ हुने भएको छ । भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा हुने सो प्रतियोगितामा पुरुषतर्फ पाँच वटा वजन समूहबीच र महिलातर्फ खुला प्रतिस्पर्धा हुने प्रतिष्ठानका निर्देशक गङ्गा दाहालले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइन ।
पुरूषतर्फ ६०, ६५, ७०, ७५ तथा ७५ केजी तौलभन्दा माथिका समूहबीच प्रतिस्पर्धा हुनेछ । यसवर्ष प्रतिष्ठानले पहिलो संस्करणमा शारीरिक सुगठन खेलमा आबद्ध खेलाडी सबैलाई समेट्ने गरी राष्ट्रियस्तरको खुला शारीरिक सुगठन प्रतियोगिता गरेको हो ।
प्रतिष्ठानले विभिन्न समयमा भरतपुरमा तेश्रो संस्करणसम्मको साइकलिङ प्रतियोगिता सम्पन्न गरिसकेको छ । प्रतियोगितामा सबै जिल्ला, प्रदेश तथा विभिन्न क्लबका महिला पुरूष गरी एक सय खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ । पुरूषतर्फ प्रत्येक तौल समूहमा पहिलो, दोस्रो, तेस्रो, चौथो तथा पाँचौं स्थानसम्मका लागि खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् ।
महिलातर्फको खुल्ला तौल समूहमा प्रथम हुने खेलाडीलाई नगद एक लाख रुपैयाँ तथा पदक, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । द्वितीय, तृतीय, चौथो र पाँचौ हुने खेलाडीलाई क्रमशः नगद ५० हजार रुपैयाँ, ३० हजार रुपैयाँ, २० हजार रुपैयाँ र १० हजार रुपैयाँसहित पदक र प्रमाणपत्र प्रदान गरिनेछ ।
एक दिवसीय प्रतियोगितामा फाइनल खेलको प्रतिस्पर्धाबाट प्रत्येक पुरूष वजन समूह प्रथम द्वितीय, तृतीय, चौथो र पाँचौ हुने खेलाडीले क्रमशः ५० हजार रुपैयाँ, ४० हजार रुपैयाँ, ३० हजार रुपैयाँ, २० हजार रुपैयाँ र १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतिक्रिया