सुदूरपश्चिम प्रदेशसभाः विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि छलफल सुरु भएको छ ।
आज बसेको प्रदेशसभाको बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले ‘आव २०८२/८३ को बजेटसँग सम्बन्धित विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक)माथि छलफल गरियोस्’ भनी प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्तावमाथि भएको छलफलमा प्रदेशसभाका सांसदहरू डम्मरी महरा, रमेशसिंह धामी, सन्तोषकुमारी शर्मा थापा, चक्रबहादुर मल्ल, इन्दिरा गिरी र माया पन्तले आ–आफ्नो धारणा राखेका थिए ।
आर्थिक मामिलामन्त्री थापाले छलफलमा उठेका प्रश्नको जवाफ दिँदै विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता निर्धारण गर्दा राज्यका निर्देशक सिद्धान्त, मौलिक हक र प्रदेशको प्रथम पञ्चवर्षीय योजनालाई मार्गदर्शकका रूपमा लिइएको बताए । उनले भने कार्यान्वयन हुन नसक्ने योजना पहिचान गरी विगतको कमीकजोरी सुधार गर्दै सन्तुलित बजेट निर्माण हुनेछ ।
आजको बैठकले सरकारको नीति कायक्रमको सम्बोधनका लागि ‘प्रदेश प्रमुख नजिर मियाँलाई प्रदेशसभा बैठकले धन्यवाद ज्ञापन गर्दछ’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । यसअघि बैठकको प्रारम्भमा मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुखबाट शुक्रबारको प्रदेशसभा बैठकमा प्रस्तुत भएको सरकारको आगामी आव २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रमको एकप्रति सभासमक्ष टेबुल गरेको थियो ।
प्रतिक्रिया