सोमबार, जेठ २०, २०८२

‘चलचित्र केवल मनोरञ्जनमा मात्र सीमित छैन’

नेपालखोज २०८२ जेठ १९ गते ६:२३

काठमाडौं । चलचित्र एक सशक्त माध्यम हो । जसले भाषा र संस्कृतिको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउनुका साथै सांस्कृतिक पहिचानलाई विश्वव्यापी रूपमा चिनाउन सक्ने क्षमता राख्छ । पछिल्लो समय चलचित्रलाई ‘सफ्ट पावर’ पनि गरिन्छ, जसले हाम्रो सोचसँगै भाष्य निर्माणमा सुक्ष्म तरिकाले काम गरिरहेको हुन्छ ।

टल्कजङ्ग भर्सेस टुल्के’ र ‘पशुपति प्रसाद’ जस्ता चलचित्रमा काम गरेपछि आफ्नो बेग्लै पहिचान बनाएका अभिनेता खगेन्द्र लामिछानेले चलचित्र प्रभावलाई आफैँले महसुस गरेको बताए ।

‘मेरो परिवारमा एक सदस्य हुनहुन्छ, जसले दक्षिण कोरियामा बनेका चलचित्र हेर्नुहुन्छ । उहाँ कोरिया जानुभएको छैन, तर भाषा आउँछ, उहाँको वेशभूषामा पनि कोरियन शैली झल्किन्छ । यो सब चलचित्रकै प्रभाव हो । त्यसकारण चलचित्र केवल मनोरञ्जनमा मात्र सीमित छैन, यसले कला, संस्कृति, भाषाको संरक्षण र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ’, अभिनेता लामिछानेले भने ।

नेपाली भाषा, कला, संस्कृतिलाई प्रवर्द्धन गर्न चलचित्र सशक्त माध्यम हुनसक्ने उनको बुझाइ छ । विशेषतः स्वदेश र विदेशमै रहेका नयाँ पुस्तालाई नेपाल र नेपाली संस्कृतिसँग नजिक बनाउन चलचित्रको ठूलो भूमिका हुनसक्ने उनले बताए ।

‘विदेशी चलचित्रले हामीलाई प्रभाव पार्न सक्छन् भने हामीले किन सक्दैनौँ रु तर, यो प्रयासलाई चलचित्रकर्मीले मात्र पूर्णता दिएर सफलता पाउन सक्दैन । राज्यले आवश्यक नीति र प्रोत्साहन दिनु आवश्यक छ । अन्य उद्योग वा क्षेत्रझैँ चलचित्रलाई प्राथमिकता दिएर प्रोत्साहन गरिने हो भने चलचित्रकर्मीको सक्रियता अझै बढ्छ’, अभिनेता लामिछानेले भने ।

भारतीय चलचित्रसँगै टेलिशृङ्खलाले पारिरहेको प्रभावलाई अभिनेता हरिवंश आचार्यले पनि महसुस गर्नुभएको छ । उहाँले प्रत्यक्ष रूपमा अहिले विवाह संस्कार र संस्कृतिमा प्रभाव परेको बताए ।

‘भारतीय टेलिभिजनमा आउने शृङ्खला भनौँ वा चलचित्रले अहिले विस्तारै हाम्रो संस्कृतिमा प्रभाव परिरहेको छ । यसले भाषामा पनि प्रहार गरेको छ । उदाहरणका लागि विवाह नै लिन सकिन्छ । पहिले र अहिले वैवाहिक कार्यक्रममा तपाईँले सहजै अन्तर देख्न सक्नुहुन्छ । त्यसले आर्थिक भार थपेको छ, अभिभावक देखासिकी गर्न बाध्य छन्’, अभिनेता आचार्यले भने ।

टेलिशृङ्खला वा चलचित्रलाई सरकारले भाषा र संस्कृतिको माध्यमका रूपमा बुझेर सघाउने नीति लिनुपर्नेमा उनले जोड दिए । पछिल्लो समय नेपालमा शृङ्खला निर्माण कम हुनुका कारण पनि लागत बढ्नु र प्रतिफल कम हुनु रहेको अभिनेता आचार्यको बुझाइ छ ।

‘चलचित्र निर्माणमा व्यक्ति वा समूहले योगदान दिनुभएको छ, यसले आफ्नो एउटा गति समातिरहेको छ । तर, पछिल्लो समय नेपालमा शृङ्खला निर्माणमा न्यूनता आएको मैले पनि महसुस गरेको छु । हामीकहाँ शृङ्खला निर्माण लागत बढेको र त्यसबापत प्राप्त हुने लाभ कम भएकाले निर्माणमा कमी आएको हुनसक्छ । विदेशमा रहेका उद्योगले प्रायोजन गरेर शृङ्खला निर्माणमा सघाउने गरेको सुन्छु । तर, यहाँ त्यो अवस्था छैन भन्दा फरक नपर्ला’, अभिनेता आचार्यले भने ।

चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईले देशमा गणतन्त्र आइसकेपछि नेपाली चलचित्रमा समाज र समुदायको कथा उठान गरिएको बताए । उनले भने, ‘विषयवस्तुमा परिवर्तन आएका छन्, जनतासँग प्रत्यक्ष जोडिएका विषय अहिले चलचित्रमा हेर्न पाइन्छ । अभिनेताको भाष्यमा परिवर्तन आएको छ । व्यक्तिगत प्रयासबाट बन्ने चलचित्रलाई प्रवर्द्धन गर्न सरोकारवाला निकाय सदैव अग्रसर हुनुपर्छ । किनकि चलचित्रले अहिले पनि विदेशमै हुर्किएका नयाँ पुस्तालाई देश, कला र संस्कृतिका बारेमा जानकारी दिइरहेको छ ।’

अभिनेत्री केकी अधिकारीले पछिल्लो समय चलचित्रमा आफ्ना भावनालाई सजिलै व्यक्त गर्न सकिने बताइन् । ‘हामीले कलालाई विद्रोह र स्वतन्त्रताका रूपमा पनि बुझ्ने गरेका छौँ । किनकि लोकतन्त्र वा गणतन्त्र आउनु अगाडि आफ्ना अभिव्यक्तिलाई कलाकै मार्फतले उजागर गर्ने गरेका थियौँ । अभिनेताको भाष्यमा परिवर्तन आएर अहिले चलचित्रमा महिला पनि ‘हिरो’ बन्न थालेकी छिन्, त्यो केही वर्ष अगाडि सम्भव थिएन’, अभिनेत्री अधिकारीले भनिन् ।

विसं २०८१ मा अभिनय गर्नुभएको चलचित्र ‘बोक्सीको घर’ले सामाजिक कुप्रथाको विषयलाई उजागर गरेको थियो । उक्त चलचित्रले सामाजिक चेतना बढाउन सघाएको अभिनेत्री अधिकारीको विश्वास छ । केही वर्षयता विदेशी चलचित्रमा आफ्ना इतिहास, देशका लागि गौरव गर्ने योद्धा तथा देशले विजय हासिल गरेको घटनाक्रमलाई लिएर चलचित्र निर्माण गर्ने क्रम बढेको छ । यसले देशको इतिहास, उपलब्धि, देश निर्माणमा प्राण समर्पित गरेका योद्धाका विषयमा बुझ्न् मद्दत गर्नुका साथै गौरवशाली वीरताको गाथालाई चलचित्रप्रेमी दर्शकसम्म पुर्याइरहेको हुन्छ ।

प्रतिक्रिया