माओवादी केन्द्रद्वारा वृक्षरोपण

दमक (झापा) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दमक नगर कमिटीले यस वर्ष पनि वृक्षरोपण कार्यक्रमलाई निरन्तरता दिएको छ । फलफूलमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ माओवादी केन्द्रले गतवर्षदेखि सुरु गरेको वृक्षरोपण कार्यक्रमलाई यसवर्ष पनि निरन्तरता दिएको जनाएको छ ।
माओवादी केन्द्र दमक नगर कमिटी अध्यक्ष रवि बस्नेतका अनुसार ‘ग्रीन दमक, क्लिन दमक’ नाम दिएर यस वर्ष पनि २५ हजार बिरुवा रोप्ने लक्ष्यका साथ शनिबारदेखि वृक्षरोपण सुरु गरिएको हो । दमकको उत्तरी क्षेत्र दमकको हंसेदुम्से सामुदायिक बनको फोहर थुपारिएको सात बिघा क्षेत्रमा दुई हजार बिरुवा रोप्न थालिएको उनको भनाइ छ ।
वृक्षरोपणमा स्थानीयसहित विभिन्न सामाजिक सङ्घसंस्थाका प्रतिनिधिहरुले श्रमदान गरी आएको अध्यक्ष बस्नेतको भनाइ छ । वृक्षरोपण दमकका १० वटै वडाभित्र दुई महिनासम्म चल्ने छ । वृक्षरोपण अभियानको माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङले शुभारम्भ गदै वृक्षरोपण कार्यक्रम पार्टीको मात्र नभएर यो समाजकै अभियान भएको जोड दिए ।
उनले भने, यो पार्टी विशेष कार्यक्रम नभइ सामाजिक अभियान हो, अघिल्लो वर्ष ५० हजार बिरुवा दमक नगरभित्रै रोपेका थियौँ, यो वर्ष २५ हजार रोपिने कार्यक्रम छ । अभियानमा यहाँहरु जोडिनुपर्छ । अभियानअन्तर्गत अमला, अम्बक, लिची, कागती, तेजपात, मसला, टिक, खयर ,खमारी, टाँकीलगायत रुख तथा छाँयादार बिरुवा रोपिने पार्टी जिल्ला कमिटी संयोजक राजु आचार्य (अग्नी) ले जानकारी दिए ।
उनले एक घर दुई बिरुवाको नीतिअनुसार वृक्षरोपण गरिदै आएको र बिरुवालाई नियमित मलजल र गोडमेल एवं संरक्षण भए, नभएको सम्बन्धित वडाले अनुगमन गर्दै आएको जानकारी दिए ।
प्रतिक्रिया