थकालीहरुको त्हस अर्थात तारो खेल

सयौं वर्ष देखि शिकारमा निर्भर हुँदै आएका आजका थकालीहरु शिकार खेल्न उहिल्यै छोडिसके । तर पुर्खाले गर्दै आएको शिकारलाई खेलमा परिवर्तन गरेर मनोरञ्जनका रुपमा तारो (त्हस) खेल्न थालेका थिए । परम्परा देखि खेल्दै आएको ल्हस अचेल अझ थकाली युवाहरुमा अत्यधिक रुचाइएको खेलमा पर्दछ । तर समयसंगै ल्हस खेल महंगिएको पनि छ । बिदेशमा बनेका धनुष तथा तीर प्रयोग गरेर खेलिने महंगो खेल बन्न थालेको छ । तर थकाली सेवा समिति नेपालले भने परम्परागत रुपमा खेलिने त्हसलाई नै बढि मान्यता दिएको पाइन्छ । थकालीहरुको प्रमुख चाडहरुमा हुने ल्हस प्रतियोगितामा परम्परागत रुपमा खेलिने ल्हसलाई नै मान्यता दिइएको हुँदा पनि यस खेलले अझ बढी मन पराइएको देखिन्छ ।
हुन त अत्याधुनिक बिदेशी सामग्रीहरु सहित खेलिने धनु प्रतियोगिता पनि नहुने होइन तर यसलाई थकाली सेवा समितिले नै मान्यता नदिएको हुँदा यसले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताका लागि मात्र बिशेष रहेको पाइन्छ । अत्याधुनिक धनुको सबै सामग्री सहित कम्तिमा पनि ४०-५० हजार पर्दछ । जसले गर्दा जो कोहीको पहुँचमा नपुग्द सक्दछ । यसर्थ पनि समाजले यसलाई मान्यता नदिएको पनि हुन सक्छ । अत्याधुनिक धनु खेल (आर्चरी)मा प्रयोग हुने धनु (bow) मात्रै १८ हजार देखि शुरु हुन्छ । त्यस्तै तीर (arrow) एउटाको १ हजार वा सो भन्दा माथि पर्दछ । धनुमा बाँधिने धागो (string), तीरलाई निशानामा लगाउनका लागि मिलाउने plunger साथै Arm Guard, Arrow Rest, Arrow Tip, Arrow Fletches, Chest Guard, Finger Tabs, Gloves, Quivers, Risers, Sight, Stabilizers, Target सबै गर्दा यो सबै सामान सहित यसको मुल्य कम्तिमा ५० हजार भन्दा माथि नै पर्दछ ।
तर पारम्परिक धनु भने सस्तो नै पाइन्छ । धनुको १५०० जति, तीरको ५०० र अन्य सबै सामग्री सहित १५०० खर्च गर्दा तारो प्रतियोगितामा भाग लिन सकिन्छ । थकाली सेवा समाजले आधुनिक धनुलाई प्रतियोगिताको लागि मान्यता दिएको छैन । तर पारम्परिक धनुलाई नै बिशेष महत्व दिएर समाजले आयोजना गर्ने बिभिन्न कार्यक्रममा तारो प्रतियोगिता पनि समावेश गर्ने गर्दछ ।
पारम्परिक धनुलाई थकाली भाषामा मे भनिन्छ । तीरलाई मेसर भनिन्छ । साथै प्वाँखलाई ट्हो भनिन्छ । प्वाँख राख्ने ठाउँलाई मुजिन भनिन्छ । तीरको फेदलाई त्हुङ भनिन्छ । त्हुङ र ट्हो को बिच भागलाई पाटन भनिन्छ । तीरको टुप्पोलाई थामे भनिन्छ । तीर राख्ने ढुङ्ग्रोलाई मे धु भनिन्छ । धनुको तारलाई ल्हलेन त्हा भनिन्छ । भने तार बिनाको धनुलाई ल्हलेन भनिन्छ ।
धनुको तीरको निशानाका लागि सिमल वा सल्लाको काठको एउटा मुढा राखिन्छ । जसलाई ल्हस भनिन्छ । यहि ल्हसको नामबाट नै थकालीहरु तीर निशाना गर्ने धनु प्रतियोगितालाई ल्हस भन्ने गरेका हुन् । यसमा निशाना लगाएर सानो प्वाल बनाइएको हुन्छ । जसलाई खोल भनिन्छ । निशानामा सबैभन्दा बढि अंक यहि खोल भित्र पर्ने तीरको हुन्छ ।
प्रतियोगितामा प्रत्येक सहभागीले दुइ तीर हान्न पाउँछन् । यदि दुइ तीर नै खोलमा खप्टिएमा म्हात्हुङ भनिन्छ । कहिले काँही प्रतियोगी अन्यको पनि तीर खप्टिएर तीन तीर खप्टिन पुग्छ । यस्तो अवस्थालाई स्हात्हुङ भएको भनिन्छ । तारो प्रतियोगिताको टोली प्रमुखलाई त्हापन भनिन्छ भने त्हसमा चोट गिन्ती गर्नेलाई ल्ह भनिन्छ ।
त्हस सम्वन्धि केही गल्ती भएमा सच्याउन सहयोग गरिदिनुहोला ।
तस्विरमा ६७ वर्ष अगाडि म्याग्दीको काब्रे गाउँमा रहेका थकालीहरु तारो हान्ने खेल (त्हस) खेल्दै ।
प्रतिक्रिया