मंगलबार, असार ३, २०८२

महाकालीको माछा बेचेर जीविका चलाउँदै

नेपालखोज २०८२ जेठ २० गते १३:५२

कञ्चनपुर । भीमदत्त नगरपालिका–१८ कटानकी इन्दु राई माछा मार्न बिहान झिसमिसेमै महाकाली नदी धाउछिन् । महाकालीबाट माछा मारेर बिक्री गरी उनको परिवारको जीविका चलेको छ । डेढ दशकदेखि राईले महाकाली नदीमा माछा मार्दै आएकी छिन् । माछा मार्न जाँदा राईले खाना पनि साथमै बोकेर जाने गरेको बताइन् ।

उनले दैनिक पाँच किलोदेखि १० किलोसम्म माछा मारिन्। त्यही माछा झलारी, महेन्द्रनगर, दैजीलगायतका स्थानीय बजारमा लगेर उनले बिक्री गरिन् । ताजा माछाको माग बढी हुन्छ, राईले भनिन्, ग्राहकलाई पुर्याउनै सक्दैनौँ । सानो माछा प्रतिकिलो २५० र ठूलो माछा ३०० मा बिक्री हुन्छ । उनको माछा मार्ने तरिका भने भिन्दै छ । खाना खाने थालीमा कपडा बेरेर बीचमा प्वाल पारी त्यसमा अतिकति पीठो राख्छिन् ।

माछा पीठो खानका लागि भित्र छिरेपछि समातेर भाँडामा राखिन् । नदीमा ढुङ्गा हुने भएकाले जाल थाप्न अप्ठेरो हुने गरेको उनको भनाइ छ । माछा बिक्री गरेर महिनामा रु ३० हजारदेखि ३५ हजारसम्म कमाई हुने गरेको राईले बताइन् । उनीसँग घर छ तर खेतीपाती गर्न जग्गा छैन । अन्न, नुन, तेल, लुगाफाटो, औषधोपचार, बालबालिकाको विद्यालयको खर्चलगायत आवश्यकता उनले माछा बिक्री गरेको आम्दानीले धान्ने गर्नुभएको छ । माछा मार्न उनी समूह बनाएर जाने गरिन् । महाकाली नदी जीविका चलाउने एक मात्रै साधन भएको राईसँगै माछा मार्दैआएकी पार्वती चौधरी बताइन् ।

घरको सबै खर्च माछा बिक्रीबाट आएको आम्दानीले धानिएको उनले बताए । विगतको तुलनामा नदीमा थोरै माछा पाइन्छ, माछाको खोजीमैदिन बित्छ, चौधरीले भनिन् । महाकालीमा महासिर, सिलर, रैना, असला, मगरीलगायत जातका माछा पाइन्छन ।

प्रतिक्रिया