गृहमन्त्रीको राजनीनामा मागेर सदन अवरोध गर्नु लोकतन्त्र विपरीत : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामालाई अनावश्यक विषय बनाएर प्रतिपक्षले सदन अवरोध गर्नु लोकतन्त्रविपरीत भएको बताएका छन् ।
नेकपा (एमाले)को संसदीय दलको आज वानेश्वरमा भएको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मङ्गलबारदेखि संसद्का नियमित गतिविधि सञ्चालन हुने बताए ।
मङ्गलबारदेखि नियमित संसद चलाउँ भनेर मैले प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कुरा गर्न खोजेको छु, उनी सम्पर्कमा आएन । वार्ता, संवाद नगर्ने अनि सदन बन्द गर्ने मुडमा उनीहरु हुनुहुन्छ होला । यस्तो व्यवहार सँधै चल्दैन । संसद सधैँ बन्द हुँदैन, प्रधानमन्त्री ओलीले भने, केही विषय नपाएर गृहमन्त्रीको राजीनामा मागिएको छ, जबकि गृहमन्त्रीमाथि कुनै उजुरी वा छानबिन चलेको छैन । त्यसकारण यस्ता कुरामा संसद अवरुद्ध हुँदैन । भोलिदेखि सदन चल्छ ।
सडकमा कुनै समूहले केही माग लिएर बस्दा दौडिएर समर्थन गर्ने, सदन पनि अवरोध गर्ने, यस्ता कामले प्रतिगमनलाई सहयोग पुग्ने तथा लोकतन्त्रलाई असहयोग हुने प्रधानमन्त्री ओलीको भनाइ थियो । खास परिस्थितिबाट देश अगाडि बढिरहेको गम्भीर मोडमा सरकारको बजेट प्रस्तुत भएकाले यसका पक्षमा तर्कपूर्णरुपमा आफ्ना कुरा राख्न सांसदहरुलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई संसदीय गतिविधिलाई महत्व दिन निर्देशन दिए ।
अर्थतन्त्र ओरालो लागेको तथा अराजकता र असन्तुष्टवादीहरुले विरोध गरिरहेका बेला बेग्लै चुनौतीको अवस्थामा बजेट आएको उल्लेख गर्दै उनले राजतन्त्र आजको बहसको विषय नै होइन भने ।
आजको समाजमा जन्मिँदै राजा हुने वंश परम्परा र दास मानसिकताको वकालत गर्नु मुर्खता हो । भारत र चीन वा अमेरिकामा निर्वाचित जनप्रतिनिधिले चलाएका छन् । केही देशमा खुम्चिएर राजतन्त्र टिकेको छ । दुनियाँमा राजतन्त्रको वैज्ञानिकता र न्यायिकता केही छैन । यस्तो बेलामा नेपालमा राजतन्त्र पुुनः स्थापनाको कुरा गर्नेहरुको चेतनाको स्तर देख्दा दया लागेर आउँछ, प्रधानमन्त्री ओलीले भने, समाज थितिविधिमा चल्नुपर्छ । संविधान र कानुनबाट चल्नुपर्छ । दलभन्दा माथि जनता हुन्छन् । सम्पूर्ण शक्तिका स्रोत जनता हुन् । अराजकता र असन्तुष्टवादीहरुले श्रीलङ्का वा बङ्गलादेश बनाउँछु भन्न खोजे पनि आखिर ती मुलुकमा लोकतन्त्रमा फर्केर मात्रै निकास आउने कुरा बुझ्नुपर्छ ।
कतिपय पक्षमा सत्ता छोड्नुपरेकाले बैचैनी र कुण्ठा प्रकट भएको टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले सरकारको राम्रो काम नदेख्ने र असफल गराउने खोज्ने ‘घण्टाकर्ण’ प्रवृत्तिहरु देखिएको बताए ।
सरकारको नेतृत्वमा भएकाले हामीमाथि केन्द्रित आक्रमण गरिएको छ जबकी देश ओरालो लाग्ने कुरालाई रोकेका छौँ । सबै क्षेत्रमा राम्रा काम गरेका छौँ । हामी अझ प्रभावकारीरुपमा विकास र सुशासनका लागि अघि बढ्नेछौँ, उनले भने ।
प्रतिक्रिया