‘नयाँ बनाउनुभन्दा भएकै स्वास्थ्य संस्थाको क्षमता विस्तार गरेर सञ्चालन गर्नुपर्छ’

नेपालखोज २०८२ जेठ १९ गते १९:२६

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नयाँ अस्पताल निर्माण गर्नुभन्दा भएकै स्वास्थ्य संस्थाको क्षमता विस्तार गरेर सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् ।

मानवअधिकार तथा शान्ति समाजको २९औँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित ‘वैज्ञानिक शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवाः आधारभूत अधिकार’ विषयक नागरिक संवाद कार्यक्रममा उहाँले ठूला अस्पतालमै पनि उपकरण र जनशक्ति अभाव रहेको भन्दै भएकै स्वास्थ्य संस्थाको स्तरोन्नति गरेर सञ्चालनमा ल्याउन सके राम्रो हुने धारणा राखेका हुन् ।

मन्त्री पौडेलले सबै घरपरिवारलाई स्वास्थ्य बिमाको दायरामा ल्याइ त्यसैबाट उपचार गर्ने व्यवस्था मिलाउन प्रयासरत बताए । उनले गर्छु भनेका कतिपय काम स्रोत सुनिश्चितताको अभावले पनि पूरा गर्न जटिल भइरहेको बताए ।

शिक्षाविद् विद्यानाथ कोइरालाले शिक्षामा लगानी नै समान रूपमा हुन नसकेको बताए । उनले भने, ‘शिक्षक र विद्यार्थीको अनुपात मिलेको छैन । कतै भवन छ, विद्यार्थी छैनन् । कर्णाली र मधेस प्रदेशमा शिक्षामा पर्याप्त लगानी हुनसकेको छैन । गुणस्तरीय शिक्षाका लागि लगानी आवश्यक छ ।’

मानवअधिकार तथा शान्ति समाजका सभापति कृष्ण पहाडीले शिक्षा र स्वास्थ्यबारे देशभर बहस र पैरवी गरिरहेको बताए । शान्ति समाजले वैज्ञानिक शिक्षा र स्वास्थ्यमा जोड दिएको भन्दै उहाँले विशेषगरी कर्णाली प्रदेशमा सरकारको ध्यान पुग्नुपर्ने धारणा राखे ।

सभापति पहाडीले मानवअधिकार, शान्ति एवं जलवायु शिक्षा प्राथमिक तहदेखि नै पाठ्यक्रममा समावेश गर्नुपर्ने, निःशुल्क आधारभूत स्वास्थ्य सेवामा समतामुलक पहुँच हुनुपर्ने माग गरे । -रासस

प्रतिक्रिया