बुधबार, जेठ २९, २०८२

झोले हुनु विचार होइन, यो चेतनाको खोट हो !

रुपेश चौलागाईं २०८२ जेठ २१ गते ११:४०

काठमाडौं। म कुनै राजनीतिक विश्लेषक होइन। न त कुनै दलको कार्यकर्ता नै। म एउटा सामान्य नेपाली नागरिक हुँ, जसले यो देशलाई माया गर्छ। किनभने यो माटो मेरो पहिचान हो, यहाँका आकाशहरूमा म आस्था देख्छु, अनि जनताको अनुहारमा आशा।

तर आजभोलि मेरो त्यो आशा धमिलिँदै गएको छ। र मलाई लाग्छ, म मात्रै होइन, देशभर लाखौं नागरिक यो पिरो कुरा मनमनै बोकिरहेका छन्।

देशको अवस्था हेर्दा अहिले हाम्रा नीति, नेतृत्व, र निष्ठा – तीनै कुराहरू गम्भीर संकटमा छन्। विकासका नाममा बन्ने योजना कागजमै सर्छन्, सडक बन्छ तर वर्ष दिन नपुग्दै भत्किन्छ र सरकारी अस्पतालमा औषधि भन्दा पनि दलाली हाबी हुन्छ।

हामीजस्तै नागरिकले तिरेको करबाट उठेको पैसाले चल्ने सरकार आजभोलि आफ्नै नागरिकलाई सेवा दिन असक्षम छ। जहाँ नजर घुमायो, त्यहीँ भ्रष्टाचारको नमूना देखिन्छ। अनि यस्तै लुटतन्त्रलाई हेरेर पनि मौन बस्ने, उल्टै जयजयकार गर्नेहरू देख्दा मन कुँडिन्छ।

को हुन ‘झोले’
राजनीति जनसेवाको माध्यम हो भन्ने सोच कहिल्यै त्यति बलियो भएर स्थापित हुन सकेन । तर अहिले त स्थिति यति भयावह भइसकेको छ कि, भ्रष्टाचार देख्दा चिच्याउनु पर्ने बेलामा केही समूह ताली बजाइरहेका छन् । यी नै हुन्, झोले । नेतालाई प्रश्न गर्नु हुँदैन भन्ने सोच बोकेका, आलोचना गर्नेलाई देशद्रोही भन्नेहरू। सत्ताको आलोचना गर्नु हुँदैन, प्रश्न गर्नु गुनाह हो, अनि नेतालाई भगवान मान्नुपर्ने भन्ने भ्रम बोकेका यिनीहरूले आज देशलाई झन् खोक्रो बनाउँदैछन्।

झोले हुनु विचार होइन, यो चेतनाको खोट हो ।

यी झोलेहरूले न त प्रणाली सुधार्न दिन्छन्, न त जनताले आवाज उठाउन। यिनको उपस्थितिले भ्रष्टाचारीहरू झनै ढुक्क भएर लुट्ने हौसला पाउँछन् । किनकि थाहा छ – भोलि यिनै झोलेहरूले सामाजिक सञ्जालमा “जय होस्” भन्दै आड दिनेछन्।

देशको ढाड भ्रष्टाचारले भाँचिँदैछ, अनि त्यो ढाडमाथि ताली बजाउने झोलेहरूको भीड देख्दा मन रिसाउँछ, तर डर पनि लाग्छ, के यिनीहरूकै कारण देश एक दिन अँध्यारो खाडलमा झर्ने त होइन ?

रुपेश चौलागाईं

चौलागाईं नेपालखोजका संवाददाता हुन् ।

प्रतिक्रिया