सूचना प्रविधि क्षेत्रका लागि बजेट सकारात्मक रहेको क्यान महासंघको निष्कर्ष, कार्यान्वयनमा जोड

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को बजेट आईटी/आईसीटी क्षेत्रका लागि सकारात्मक रहेको निष्कर्ष कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले निकालेको छ ।
सरकारलाई यसअघि पेश गरिएको २५ बुँदे सुझावमध्ये धेरैजसो माग बजेटले सम्बोधन गरेको ठहर गर्दै क्यान महासंघले बजेटप्रति आभार व्यक्त गरेको छ । सूचना प्रविधिलाई उद्योगको हैसियत दिने व्यवस्था, कर सहुलियत, सेवा निर्यातमा प्रोत्साहन, स्टार्टअपका लागि सहुलियत ब्याजदरमा कर्जा तथा कर छुट र पूर्वाधार निर्माणका लागि गरिएको व्यवस्था सराहनीय भएको क्यान महासंघले प्रतिक्रिया दिएको छ ।
क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले भनिन, ‘बजेटले सूचना प्रविधि क्षेत्रलाई पहिलोपटक स्पष्ट रूपमा उद्योगको रूपमा चिनाएको छ । यो हाम्रो लामो समयदेखिको माग थियो । कर नीतिमा लचकता, स्टार्टअप प्रोत्साहन, सेवा निर्यात प्रवद्र्धनजस्ता विषयले हामीलाई आशावादी बनाएको छ । अब यसको प्रभावकारी कार्यान्वयन आवश्यक छ ।’
सरकारले आर्थिक ऐनमार्फत बजेटमा प्रस्ताव गरिएका व्यवस्थाहरूलाई कसरी कार्यान्वयन गर्छ भन्नेबारे स्पष्ट भएपछि विस्तृत प्रतिक्रिया दिने तयारी क्यान महासंघले गरेको अध्यक्ष घिमिरेले जानकारी दिईन । बजेटमा सूचना प्रविधिमा आधारित उद्योगलाई विशेष उद्योगसरह मानिने व्यवस्था गरिएको छ ।
बजेटको बुँदा ३८६ सूचना प्रविधिमा आधारित उद्योगलाई विशेष उद्योगसरह आयकर र विद्युत महसुल छुट दिने व्यवस्था गरिएको छ । यसले सूचना प्रविधिलाई उद्योगको रुपमा औपचारिक मान्यता दिने संकेत गरेको अध्यक्ष घिमिरेले बताईन ।
त्यस्तै, निजी क्षेत्रको मागलाई सम्बोधन गर्नेगरी विदेशमा सूचना प्रविधि सेवा निर्यात गर्ने व्यक्तिको आम्दानीमा केवल ५ प्रतिशत अन्तिम आयकर लगाउने व्यवस्था, स्टार्टअप कम्पनीहरूलाई पाँच वर्षसम्म कर छुट दिने घोषणाले यस क्षेत्रको विकास र नवप्रवर्तनलाई प्रोत्साहन दिने उनले अपेक्षा राखिन ।
बजेटमा पूर्वाधार विकासका क्षेत्रमा पनि महत्त्वपूर्ण कार्यक्रमहरू समावेश गरिएका छन् । डिजिटल नेपाल फ्रेमवर्कको दोस्रो संस्करण तर्जुमा गरिने, काठमाडौंमा सूचना प्रविधि पार्क निर्माण, एकीकृत डेटा व्यवस्थापन केन्द्रको स्तरोन्नति, क्लाउड पूर्वाधार विकास र मध्यपहाडी क्षेत्रमा डेटा सेन्टर स्थापना जस्ता घोषणाले डिजिटल अर्थतन्त्रको आधार तयार पार्ने क्यान महासंघको विश्वास छ ।
प्रतिक्रिया