विधेयक संशोधन सहमति गरियोस भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं । राष्ट्रियसभाबाट ‘शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधन सहमति गरियोस’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । सभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए ।
त्यसअघि मन्त्री पन्तले सांसदको प्रश्नको जवाफ दिँदै यस विश्वविद्यालयले सुदुरपश्चिममा मात्र नभई देशको शैक्षिक र स्वास्थ्य शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण प्रभाव पार्ने उल्लेख गरे । नेपालको मेडिकल साइन्ससम्बन्धी खुलेको पहिलो विश्वविद्यालय हो । देशको पिछडिएको भनिएको क्षेत्र सुदुरपश्चिममा खुलेको छ, उनले भने, कैलाली र कञ्चनपुर हुँदै हाम्रा नेपाली विद्यार्थी भारतमा जसरी लर्को लाग्दथे, अब उनीहरुको पाइला गेटामा गएर रोकिनेछन ।
मन्त्री पन्तले झण्डै ५१.१ हेक्टरको क्षेत्रफलको जगामा ५० वटाभन्दा बढी संरचना निर्माण भइसकेको जानकारी गराए । उनकाअनुसार हालसम्म सबै ठुला संरचना सम्पन्न भइसकेका छन् । जसमा ३९ वटा ठूला भवन छन् । त्यसैगरी सभाअध्यक्ष नारायणप्रसाद दाहालले आगामी आर्थिक वर्ष २०८२/८३ का राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलका लागि यही जेठ २१, २२ र २३ गतेको मिति तोके ।
छलफलमा भाग लिन चाहने सदस्यले दलीय आधारमा बैठक सुरु हुन एक दिन अगावै कार्यव्यवस्था शाखा राष्ट्रियसभामा नाम उपलब्ध गराउन उनले जानकारी दिए ।

प्रतिक्रिया