‘जुनसुकै बेला जेसुकै हुन सक्छ, तयार भएर बस्नुहोस्’

काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद्को जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा जुनसुकै बेला जेसुकै हुन्छ भन्ने मानसिकतामा रहन नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । आज सामाखुसीस्थित नेपाल प्रहरीको विपद् व्यवस्थापन कार्यालयको निरीक्षणका क्रममा गृहमन्त्री लेखकले यस्तो निर्देशन दिएका हुन् ।
‘जुनसुकै बेला जेसुकै हुन सक्छ । त्यो मानसिकताका साथ बस्नुपर्छ । मनसुनजन्य विपद्को पूर्वानुमान हुन्छ । तर, भूकम्प र आगलागीको पूर्वानुमान हुँदैन’, उनले भने, ‘हामी मनसुनको पूर्वसन्ध्यामा छौँ । मनसुन सक्रिय भएपछि बाढी र पहिरो आउँछ । त्यसको पूर्वतयारीमा हामी तयार रहनुपर्छ ।’ विपद्को व्यवस्थापन पनि नेपालको जिम्मेवारी दिएको भन्दै चौबिसै घण्टा तयार रहन गृहमन्त्री लेखकले निर्देशन दिए ।
‘विपद्को जोखिम न्यूनीकरण र व्यवस्थापन नेपाल प्रहरीको जिम्मेवारी हो भनेर कानुनमै उल्लेख छ । नेपाल प्रहरीको उपस्थिति नागरिक तहमा विशाल छ । मानिसमा प्रहरीप्रति आशा र भरोसा बढ्दो छ । विपद्मा मानिसले सबैभन्दा पहिलो प्रहरी नै खोज्छ । हामीले जनताको भावनालाई सेवाको भावले सम्बोधन गर्नुपर्छ’, उनले भने ।
अहिले बाढी, पहिरो र डुबानको जोखिम न्यूनीकरण र व्यवस्थापनको तयारी अवस्थामा रहनुपर्ने उनको भनाइ थियो । ‘मनसुनजन्य विपद्का लागि आजदेखि तयार हुनुपर्र्यो । समयमै पूर्वसूचना गराउन र उद्दारका लागि तयार अवस्थामा बस्न जरूरी छ । जेठ २८ गतेदेखि मनसुन सक्रिय हुने अनुमान छ’, उनले भने ।
यसपटक पहिलेकोभन्दा नेपाल प्रहरीको बजेट बढेको भन्दै तलब, पोशाक, महँगी भत्तामा कुनै समस्या नहुने उनको भनाइ थियो । यस्तै नेपाल प्रहरीको ऐन संशोधनका लागि सङ्घीय संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा चाँडै छलफल सुरू हुने गृहमन्त्री लेखकले बताए ।
प्रतिक्रिया