‘प्रदूषण न्यूनीकरण गर्दै वातावरणमैत्री प्रविधि अवलम्बन गर्नु अहिलेको आवश्यकता’

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले दिगो विकासका लक्ष्य प्राप्त गर्न वातावरणीय प्रदूषण न्यूनीकरण गर्दै वातावरणमैत्री प्रविधि अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
विश्व वातावरण दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति यादवले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले हिउँको मात्रा घट्दा गएको र वनक्षेत्रको विनाशले जैविक विविधतामा खतरा निम्त्याएको उल्लेख गरे ।
शुभकामना सन्देशमा भनिएको छ, ‘नदी तथा जलस्रोतको दुषित अवस्थाले सुरक्षित खानेपानीको अभाव सिर्जना भएको छ । अतिवृष्टि, अनावृष्टि, खडेरी, सुक्खाग्रस्त समस्याको चपेटामा हामी पर्दै गएका छौँ । तराई–मधेस क्षेत्रमा त भूमिगत पानीका स्रोतहरू सुक्दै गएका छन् वा पानीको सतह निक्कै तल गइसकेको अवस्था छ ।’
उपराष्ट्रपति यादवले नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण मुलुक भए पनि जलवायु परिवर्तनका विविध असरले निकै समस्या उत्पन्न भइरहेको भन्दै यसविरुद्ध सबैको सहकार्य जरूरी रहेको उल्लेख गरेका छन् । ‘हाल हिमालको हिउँ पग्लने, नदीहरूमा प्रदूषण, वायु प्रदूषण, वन विनाश, चुरे विनाशजस्ता गम्भीर चुनौती देखापरेका छन् । कतिपय ठाउँमा इनार, कुवा, चापाकललगायतमा पानी आउनै छाडेको छ, यस सन्दर्भमा स्थानीय सरकार, निजी क्षेत्र तथा नागरिक समाजबीचको सहकार्य अनिवार्य छ ।’
प्रत्येक वर्ष ५ जुनमा विश्व वातावरण दिवस मनाइन्छ । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युएनइपी)को नेतृत्वमा मनाइने विश्व वातावरण दिवस—२०२५ को मूल नारा ‘प्लास्टिक प्रदूषणको अन्त्य’ रहेको छ ।
उपराष्ट्रपति यादवले नवीकरणीय ऊर्जा स्रोत प्रवर्द्धन, वन्यजन्तु तथा जैविक विविधताको सुरक्षा सुनिश्चित, कृषि तथा औद्योगिक उत्पादनमा वातावरणमैत्री प्रविधि अपनाउने र व्यक्तिगत तथा सामुदायिक तहमा वातावरण संरक्षणका पहलहरूलाई प्रोत्साहित गर्ने कार्यमा जोड दिन जरूरी रहेको पनि बताएका छन् ।
प्रतिक्रिया