माधव नेपालको सांसद पद निलम्बन

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको सांसद पद निलम्बनमा परेको छ ।
पतन्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनको सांसद पद स्वतः निलम्बनमा परेको हो ।
भ्रष्टाचारविरुद्ध मुद्दा किनारा नलागेसम्म सांसद पद स्वतः निलम्बन हुने व्यवस्था छ ।
नेपालसहित तत्कालीन मुख्यसचिव माधव घिमिरे, सचिवहरू छविराज पन्त र प्रेमसिंह बस्नेतसहित ९३ जनाविरुद्ध अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
पतञ्जलिका नाममा हदबन्दी छुटमा जग्गा खरिद गर्न दिएको र किनेको दुई महिना नबित्दै गैरकानुनी रूपमा हाउजिङ कम्पनीलाई बेच्ने स्वीकृति दिई भ्रष्टाचार गरेको आरोपमा उनीहरुविरुद्ध अभियोगपत्र दायर भएको हो ।
२०६६ सालमा भारतीय योगगुरु रामदेवको लगानी रहेको पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीले काभ्रेको बनेपामा ५९३ रोपनी जग्गा खरिद गरी ३५३ रोपनी हाउजिङ कम्पनीलाई बेचिएको बताइएको छ ।
प्रतिक्रिया