शुक्रबार, जेठ २४, २०८२

राष्ट्रियसभाका सांसदद्वारा बजेट कार्यान्वयनमा जोड

नेपालखोज २०८२ जेठ २३ गते १४:५७

काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले आगामी आर्थिक वर्ष २०८२/०८३ को आर्थिक बजेट कार्यान्वयनमा जोड दिएका छन् । आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्यवको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा दलीय आधारमा आफ्नो धारणा राख्दै सांसदहरुले विगतमा बजेट उत्कृष्ट हुँदाहुँदैपनि कार्यान्वनमा जटिलता देखिएकोे उल्लेख गर्दे आगामी वर्षको बजेट कार्यान्वयनमा जोड दिएका हुन् ।

नेपाली कांग्रेसका सांसद किरण बावु श्रेष्ठले बजेट उत्कृष्ट हुँदाहुँदै पनि कार्यान्वयनमा कमजोरी, पूँजीगत खर्चको न्यून उपयोग र भ्रष्टाचारजस्ता समस्या समाधानमा सरकारको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए । उनले भने, सरकारका सबै बजेट भाषण र योजना राम्रा र कर्णप्रिय नै हुन्छन, तर मुख्य कुरा कार्यान्वयन हो, यद्यपी अहिलेको बजेट धेरै महत्वाकाङ्क्षी छैन, यसले नेपालको समसामयिक आर्थिक चुनौतीलाई सम्वोधन गर्ने प्रयास गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद गोपाल भट्टराईले बजेटले स्नातकोत्तर अधययन गर्दे गरेका विद्यार्थीलाई स्वंयमसेवक शिक्षकको भूमिका परिचालन गर्ने विषय आफैँमा सकारात्मक भएको बताए । उनले भने, नीति तथा कार्यक्रममा दलितलाई समेटिएन भन्ने कुरा आएको थियो, तर अहिले बजेटले समेटेको छ, दलित भित्रपनि अति पिछडिएका मुसहर, डोम र चमार जातिका विद्यार्थीलाई चिकित्सा शिक्षामा प्रोत्साहन गर्न दुई अबै ४४ करोड बजेटको व्यवस्था भएको छ, यो राम्रो कुरा हो ।

बजेटमा विदेशी विद्याथीलाई आकर्षण गर्ने कार्यक्रम समावेश गरिएको उल्लेख गर्दै सांसद भट्टराईले उद्योग व्यापारतर्फ प्रोत्साहन गर्ने उद्देश्यतर्फ बजेट केन्द्रित भएको उनको भनाइ छ । नेकपा (माओवादी केन्द्र) का सांसद मायाप्रसाद शर्माले सोह्रौँ पञ्चवर्षीय योजना र गत वर्षको बजेट कार्यान्वयनलाई वेवास्ता गरिएको टिप्पणी गर्दै तीन खम्बे अर्थनीति सहकारी, सरकारी र नीजिलाई समान ढङ्गबाट लैजानुपर्नेमा निजीलाई मात्रै प्रोत्साहन गरिएको बताए ।

उनले भने, बजेटले सरकारी र सहकारीलाई वेवास्ता गरेको छ, यसमा निजी क्षेत्र उत्साही छ, तर किसान, मजदूर, दलित र उपेक्षित वर्ग समुदाय निरुत्साही देखिन्छ । सरकारले बजेटमार्फत सुशासन, सामाजिक न्याय र समृद्धिलाई ओझेलमा पार्ने काम गरेको उनको भनाइ छ ।

प्रतिक्रिया