शुक्रबार, जेठ २४, २०८२

श्रीलङ्काका पूर्व स्पिनरमाथि म्याच फिक्सिङको आरोप

नेपालखोज २०८२ जेठ २३ गते १६:०८

कोलम्बो । श्रीलङ्काका पूर्व स्पिन बलर सचित्र सेनानायकले बिहीबार मुलुकमा खेलकुदमा भ्रष्टाचार मेटाउने उद्देश्यले ल्याइएको नयाँ कानूनअन्तर्गत मुद्दा चलाइने पहिलो व्यक्ति बनेका छन् । चालिस वर्षीय सेनानायकेमाथि दक्षिणी सहर हम्बनटोटाको उच्च अदालतमा सन् २०२० को स्थानीय प्रतियोगितासँग सम्बन्धित म्याच फिक्सिङको आरोप लगाइएको छ ।

उनी सन् २०२३ सेप्टेम्बरमा पक्राउ परेपछि हाल जमानतमा हुन् । उनले आरोपहरू अस्वीकार गरेका छन् । चौरहत्तर अन्तर्राष्ट्रिय खेल खेलेका सेनानायकले अन्तिम पटक सन् २०१६ मा श्रीलङ्काका लागि खेलेका थिए । उनीमाथि २०२० मा लङ्का प्रिमियर लिगका दुई खेलाडीलाई म्याच फिक्सिङका लागि प्रभाव पारेको आरोप छ । म्याच फिक्सिङलाई फौजदारी अपराध बनाउने सन् २०१९ को कानूनको उल्लङ्घन गर्ने सेनानायके पहिलो खेलाडी भएको प्रहरीले जनाएको छ ।

दोषी ठहरिएमा अधिकतम १० वर्षको जेल, १० करोड रुपैयाँ (तीन लाख ३३ हजार डलर) सम्मको जरिवाना वा दुवै हुन सक्छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले श्रीलङ्कालाई सबैभन्दा भ्रष्ट क्रिकेट खेल्ने राष्ट्रहरू मध्ये एक मानेको भनेपछि पूर्व खेलकुदमन्त्री हरिन फर्नान्डोले यो कडा नयाँ कानून ल्याएका थिए । अर्का पूर्व खेलकुदमन्त्री महिन्दानन्द अलुथगामागेले सन् २०२१ मा संसद्मा देशमा म्याच फिक्सिङ व्याप्त रहेको बताएका थिए ।

अलुथगामगेलाई असम्बन्धित भ्रष्टाचारको मुद्दामा २० वर्षको जेल सजाय भएको थियो । श्रीलङ्काका सन् १९९६ को विश्वकप विजेता कप्तान अर्जुन रणतुङ्गाले सन् २०१२ मा राष्ट्रिय टोलीमा ‘कुव्यवस्थापन, भ्रष्टाचार र अनुशासनहीनता’ भन्दै विरोध गर्दै प्रशंसकहरूलाई खेल बहिष्कार गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया