‘परम्परागत बाली र विषादीरहित उत्पादनका लागि सरकारले काम गरिरहेको छ’

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाली परम्परागत बाली र विषादीरहित उत्पादनका लागि सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत थप कार्यक्रम अगाडि बढाएको बताएका छन् ।
एग्री प्रडक्ट नेपालले सञ्चालन गरिरहेको ‘रैथाने कृषि हाटबजार’ को एक सयौँ हप्ता सम्पन्न गरेको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले सरकार रैथानी बाली संरक्षण र परम्परागत कृषि सीप संरक्षणमा क्रियाशील रहेको बताए । मन्त्री अधिकारीले पछिल्लो समय स्थानीय उत्पादन, परम्परागत बाली र त्यसको उपभोगका विषयमा जागरण आइरहेको उल्लेख गर्दै अब अत्यावश्यक खाद्यवस्तुको आयात प्रतिस्थापन गर्ने गरी व्यावसायिक विकासमा केन्द्रित हुनुपर्ने बताए ।
‘पहिले दुई छाक भात खान नपाउँदा गरिब भएको महसुस हुन्थ्यो, हाल दुई छाक भात खानुपरे पीडा महसुस हुन्छ, थोरै उत्पादन होस् तर रोग नलाग्ने विषादीरहित खाद्यवस्तु खान पाइयोस् भन्ने चेतना बढेको छ, यसमा रैथाने कृषि हाटबजार अभियानको पनि महत्वपूर्ण भूमिका छ’, उनले भने, ‘अब रैथाने बीउको संरक्षण र समयानुसार विकास गरी लाभ लिनुपर्ने आवश्यकता छ, त्यसका लागि स्थानीय तहले अझ बढी महत्वपूर्ण भूमिका खेल्न सक्छन्, व्यवसायीको भूमिका त्यत्तिकै महत्वपूर्ण छ ।’
मन्त्री अधिकारीले आयात, परनिर्भरता र आर्थिक स्रोतको अभाव पूर्ति गर्न गाँजालगायत जडिबुटीजन्य नेपाली उत्पादनमा जोड दिनुपर्ने बेला आएको धारणा राखे । ‘हाल अत्यावश्यक वस्तु आयात गरेर खानु परिरहेको छ, अर्थतन्त्रमाथि त्यतिकै दबाब छ, यो कुरा सबैले महसुस गरेका छौँ, तर हामीले गाँजा र यस्तै औषधीय गुण भएका कृषिउपजको वैधानिक खेती गर्ने हो भने मेरो गृह जिल्ला धादिङमा मात्रै पाँच वटा भन्सार कार्यालय थप्नुपर्ने अवस्था आउँछ, त्यसले पैसा अभाव हुन दिँदैन, त्यसैले यस विषयमा सरकारले आवश्यक काम गर्नुपर्छ भन्ने कुरा आइरहेका छन्, हामी सकारात्मक छौँ’, उनले भने ।
पूर्वमन्त्री शेरबहादुर तामाङले अब कुरा मात्रै नभई काम गर्नुपर्ने बेला आएको उल्लेख गर्दै सरकारले स्थानीय परम्परागत बालीको संरक्षणका लागि देखिने गरी काम गर्नुपर्ने धारणा राखे । उनले सरकारले नीतिगत सहजीकरण गर्ने र किसानले जिम्मेवारीपूर्वक काम गरे बेरोजगारीको समस्या समाधानमा ठूलो टेवा पुग्ने धारणा राखे ।
‘अब अनुदान होइन, न्यून ब्याज तथा बिनाब्याजमा कृषकले ऋण पाउने व्यवस्था हु्नुपर्यो, कृषि विकासको नाममा स्थापित कृषि विकास बैंकलाई किसानको हितमा काम गर्न लगाउनुपर्यो, घरजग्गाा किन्दा सहज तर कृषि उद्यमका लागि जाँदा ऋण नै नपाउने अवस्था छ, यसलाई अन्त्य गरौँ’, उनले भने, ‘मैले त कोदोको रक्सीको ब्रान्डिङ, गाँजाखेतीको वैधानिकताको कुरा गरिरहेको छु, यो काम भएमा हाम्रा युवाले देशमै बसेर वर्षको रु आठ÷दश लाख कमाउने अवस्था बन्छ, यसमा काम गर्न ढिला नगरौँ ।’
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा।रामकृष्ण श्रेष्ठले आफ्ना परम्परागत उत्पादन उपभोग गर्ने बानी विकास भएमा उत्पादन र व्यावसायिक विकासमा टेवा पुग्ने धारणा राखे । नेपाल सरकारले बाली विकास, स्थानीय जात र प्रविधि संरक्षणमा काम गर्दै आएको र यसका लागि आर्थिक वर्ष २०७७र७८ देखि देशभर करिब ३०० पालिकालाई शसर्त अनुदानमा बजेट तथा कार्यक्रम व्यवस्थापन गर्दै आएको बताए ।
एग्री प्रडक्ट नेपालका अध्यक्ष तिलक ढाकालले रैथाने बाली, परम्परागत सीप र ज्ञानको संरक्षण, प्रवर्द्धन र बजारीकरणका लागि उत्पादक किसान एवं उद्यमीहरूले विसं २०८० साउन १ गतेदेखि अभियान सुरु भएको बताए । रैथाने कृषि हाटबजार अभियानले एक सय हप्ता पूरा गरेको र यस अवधिमा प्रत्येक हप्ता औषतमा ३५ स्टलबाट ३०० देखि ४०० ग्राहक जोडिने गरेको जानकारी दिँदै हालसम्म करिब रु तीन करोडको कारोबार भएको सुनाए ।
कार्यक्रममा थुलुङ दूधकोशी गाउँपालिका सोलुखुम्बुका अध्यक्ष असिम राई, खनियाबास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङ, विश्व वन्यजन्तु कोष (डब्लुडब्लु एफ) का नेपाल प्रतिनिधि डा।घनश्याम गुरुङ, नेपाल डेरी एशोसिएशनका अध्यक्ष पह्लाद दाहाल, ओरियन्ट क्याफे दरबारमार्गका सञ्चालक पशुपति पाण्डे, महिला उद्यमी जोत्सना केसीलगायतले सम्बोधन गरेका थिए । उनीहरूले स्थानीय जातको बीउ र बाली मासिनु भनेको नेपाली संस्कृतिमाथिको अतिक्रमण भएको भन्दै संरक्षणमा लाग्न सबैलाई आग्रह गरे । रासस
प्रतिक्रिया