आइतबार, जेठ २६, २०८२

मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि

नेपालखोज २०८२ जेठ २६ गते ९:४६

झापा । मेचीनगर नगरपालिकाको घरपालुवा पशुहरूमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण देखापरेको छ । मेचीनगरको वडा नं २, ३, ७, ८, ९ र १४ मा ‘लम्पी स्किन’ र वडा नं ६ को बङ्गुर फार्ममा ‘अफ्रिकन स्वाइन फ्लू’को सङ्क्रमण पुष्टि भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिए ।

लम्पी स्किन र स्वाइन फ्लूको सङ्क्रमण पुष्टि भयो, उनले भने, नगरको पशु सेवा शाखाबाट सङ्क्रमण नियन्त्रण र रोकथामका लागि आवश्यक परीक्षण, उपचार र सतर्कताका सात जना प्राविधिक कर्मचारी परिचालन गरिरहेका छौँ । कोशी प्रदेश र सङ्घीय सरकारका निकायमा समेत आवश्यक सहयोग र समन्वयका लागि अनुरोध गरिसकेका छौँ ।

पशु सेवा शाखाका प्राविधिक छत्र राईका अनुसार गाई र बाच्छीहरूमा ‘लम्पी स्किन’को सङ्क्रमण देखिएपछि किसानको गोठमै पुगेर प्राविधिक टोलीले उपचार सुरु गरेको छ । गाईवस्तको जिउभरि घाउ खटिरा र ज्वरो आउने लक्षण रहेको जनाउँदै उनले किसानलाई गोठको सरसफाइका लागि फिनेललगायतका सामग्री वितरण गरिएको बताए । सङ्क्रमित गाई र बाच्छीहरूलाई अलग्गै राखेर मल्हम लगाउने र पेनकिनर औषधि खुवाउने गरिएको उनले बताए ।

‘लम्पी स्किन’ले थप जोखिम नहोस् भन्नाका लागि सङ्क्रमण फेलापरेको गोठको पाँच सय मिटर आसपासका किसानले पालेका डेढ सयभन्दा बढी गाईवस्तुमा पशु प्राविधिक टोलीले ‘रिङ भ्याक्सिन’ लगाउने गरेको छ । यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, झोक्राउने, खाना अरुचि हुने र दूध कम दिने लक्षण देखापरेको राईले बताए ।

यो रोग सङ्क्राकम भाइरसबाट फैलिने गर्दछ । यसैगरी मेचीनगर वडा नं ६ स्थित बबिता बङ्गुुर फार्ममा ‘अफ्रिकन स्वाइन फ्लू’का कारण ८० बङ्गुर मरेका छन् । पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीषणबाट मरेका बङ्गुरमा ‘अफ्रिकन स्वाइन फ्लू’ पुष्टि भएको पशु सेवा शाखाका प्रमुख विक्रम गुरुङले बताए ।

प्रतिक्रिया