कोलम्बियाका राष्ट्रपतिका उम्मेद्वार गोली प्रहारबाट घाइते

बोगोटा । कोलम्बियाका दक्षिणपन्थी विपक्षी सिनेटर तथा आगामी वर्षको राष्ट्रपति चुनावका उम्मेदवार शनिबार बोगोटामा भएको चुनावी कार्यक्रममा गोली लागेपछि गहन उपचार कक्षमा रहेको अधिकारीहरूले बताएका छन् ।
सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोमा ३९ वर्षीय मिगुएल उराइबले अचानक गोली चल्दा धेरै मानिसको अगाडि भाषण दिँदै गरेको देखिन्छ । अन्य तस्बिरहरूमा उनी रगतले लतपतिएको अवस्थामा सेतो कारको बोनटमा ढलेको र पुरुषहरूको समूहले उनलाई सम्हालेको देखिन्छ ।
मिडियाका अनुसार संदिग्ध बन्दुकधारी एक किशोरलाई पक्राउ गरिएको छ । महान्यायाधिवक्ता लुज एड्रियाना कामार्गोले काराकोल रेडियोलाई उराइब ‘गहन उपचार कक्षमा’ रहेको बताए । स्थानीय मिडियाका अनुसार कम्तीमा एउटा गोली सिनेटरको घाँटी वा टाउकोमा लागेको छ । वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोको सरकारले राजधानीको पश्चिममा चुनावी अभियानका क्रममा उराइबमाथि भएको आक्रमणको ‘स्पष्ट र कडा’ निन्दा गरेको छ ।
हिंसाको यो कार्य उनको व्यक्तित्वमाथि मात्र नभएर लोकतन्त्र, विचारको स्वतन्त्रता र कोलम्बियामा राजनीतिको वैधानिक अभ्यासमाथिको आक्रमण हो, राष्ट्रपति कार्यालयले विज्ञप्तिमा भनेको छ । पेट्रोका कडा आलोचक उराइब डेमोक्रेटिक सेन्टर पार्टीका सदस्य हुन् । उनले गत अक्टोबरमा सन् २०२६ को राष्ट्रपति चुनावमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।
– पछाडिबाट गोली प्रहार –
उनको पार्टीले शनिबार एक विज्ञप्तिमा एक ‘सशस्त्र व्यक्ति’ ले सिनेटरलाई पछाडिबाट गोली हानेको बताएको छ । “उक्त आक्रमणले एक राजनीतिक नेताको जीवनलाई मात्र खतरामा पार्ने नभएर कोलम्बियाको लोकतन्त्र र स्वतन्त्रतालाई पनि खतरामा पार्छ, पार्टीले भनेको छ । यसैबीच पार्टी नेता एवं कोलम्बियाका प्रभावशाली पूर्वराष्ट्रपति अल्भारो उराइबले गोलीकाण्डलाई ‘देशको आशामाथिको आक्रमण’ भनेका छन् ।
बोगोटाका मेयर कार्लोस गालानले एक्समा ‘बन्दुकधारीलाई पक्राउ गरिएको’ बताएका छन् । स्थानीय मिडियाका अनुसार १५ वर्षीय केटालाई पक्राउ गरिएको छ र उसैले गोली चलाएको आशङ्का गरिएको छ । महान्यायाधिवक्ता कामार्गोले आफूले ती रिपोर्टहरू देखेको तर जानकारी अझै प्रमाणित हुन बाँकी रहेको बताए । मिगुएल उराइब कोलम्बियामा लामो राजनीतिक परम्परा भएको परिवारका सदस्य हुन् ।
प्रतिक्रिया