आइतबार, जेठ २६, २०८२

राज्यको चौथो अङ्गमा महिलाको पहुँच र भूमिका अझै न्यून : पूर्वराष्ट्रपति भण्डारी

नेपालखोज २०८२ जेठ २६ गते १९:२५

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यको चौथो अङ्गको रूपमा रहेको आमसञ्चार क्षेत्रमा महिलाको पहुँच र भूमिका अझै न्यून रहेको बताएकी छन् ।

नारी सञ्चार गृह झापाद्वारा आज विर्तामोडमा आयोजित अक्षयकोष घोषणा, पुस्तक विमोचन र दाता सम्मान कार्यकमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपतिले आमसञ्चार जगतमा महिला सहभागिता क्रमशः विस्तार हुँदै आए पनि सङ्ख्यात्मक दृष्टिले महिलाको उपस्थिति अझै न्यून रहेको बताइन् । उनले समाचार सम्पादन, निर्णय र नीतिनिर्माणको तहमा महिलाको पहुँच र भूमिका सीमित रहेकामा चिन्ता व्यक्त गर्दै सञ्चारमाध्यमको नेतृत्व तहमा पनि यो सङ्ख्या न्यून रहेको बताइन् ।

जनसङ्ख्याको आधा हिस्सा ओगटेका महिलासँग सम्बन्धित विषय सञ्चारमाध्यममा प्रभावकारी रूपमा उठाउन महिला पत्रकारको भूमिका महत्त्वपूर्ण रहने उनको भनाइ थियो ।

चुनौतिपूर्ण परिवेशका बावजुद पनि महिला पत्रकारले देखाएको पेशागत दृढता, आत्मबल तथा सामाजिक परिवर्तनप्रतिको लगाव र प्रतिवद्धता प्रशंसनीय रहेको उनले बताइन् ।

प्रतिक्रिया