भवानीशङ्करको वार्षिक १ करोडभन्दा बढीको माछा कारोबार

काठमाडौं । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-१ का भवानीशङ्कर यादवले व्यावसायिक माछापालन गरी वार्षिक १ करोड रुपैयाँभन्दा बढीको कारोबार गरिरहेका छन् ।
भारतको आन्ध्र प्रदेशबाट माछापालनसम्बन्धी तालिममा हासिल गरेको अनुभवको प्रयोग गर्दै उनले माछापालन गरेर गाउँमै उदाहरण पेस गरेका हुन् ।
सोह्र बिघा जग्गामा २० वटा पोखरी बनाएर व्यावसायिक माछापालन गरिरहेको ४८ वर्षीय यादवले बैखी कार्प माछा पालन गरेका छन् । पोखरीमा रहेका माछालाई चरालगायत कुनै पनि चिजले खान नपाउन् भनेर जाल जाली लगाइएको छ ।
वैदेशिक रोजगारमा जानुभन्दा स्वदेशमै व्यवसाय गर्नुपर्छ भन्ने उद्देश्य बोकेर एकवा रिसर्च प्रालि र अरुण एकीकृत कृषि फर्म दर्ता गरेर आफूले व्यावसायिक माछापालन गरेको र यसबाट वार्षिक एक करोड रुपैयाँ भन्दा बढी कारोबार गरी राम्रो आम्दानी गरिरहेको बताए ।
पछिल्लो समय भारतबाट अवैध रूपमा माछा ल्याएर भारतीय व्यापारीले सीमा क्षेत्रमा प्रतिकिलो १५० रुपैयाँका दरले बिक्री गर्न थालेपछि भने समस्या भएको उनको भनाइ छ । यस वर्ष माछा उत्पादनसँगै बजारीकरणमा कुनै समस्या नभए लक्ष्यअनुसार नै कारोबार हुने यादवको अपेक्षा छ ।
माछापालन व्यवसाय सुरु गर्नुअघि उनले भैँसीपालन गरिरहेका थिए । उनीसँग ४० वटा भैँसी रहेका थिए । आफू किसानको छोरा भएकाले वैदेशिक रोजगारमा गएर मेहनत गर् आफ्नै देशमा कृषि कर्म गरेर खानु राम्रो हुने भनेर यसैमा रमाइरहेको बताउने यादव पछिल्लो समय भने माछापालनमा जुटेको बताउछन् ।
प्रतिक्रिया