‘मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत भेटिन्छन्’

घोराही, (दाङ) । किसान डम्बर बुढाको दैनिकी उखुको जुस बिक्री गरेर बित्ने गरेको छ । विगत आठ वर्षदेखि उखुखेती गर्दै आएका उनको आम्दानी पनि बढ्दै गएकोे छ । पछिल्लो समय अत्याधिक गर्मी बढेसँगै यसको व्यापार पनि बढेको हो ।
उनले घोराही उपमहानगरपालिका–१७ गैरागाउँमा बिहानैदेखि साँझसम्म उखु पेलेर रस बेच्ने काम गर्दै आएका छन् । रोल्पाको परिवर्तन गाउँपालिका–१ कुरेलीबाट दाङको घोराही उपमहानगरपालिका–६ मा बसाइँ सर्नु भएका बुढाले आम्दानी गर्नकै लागि विदेश जानु नपर्ने बताए
उमेरले ४३ वर्ष पुगेका बुढाले उखुको व्यावसायिक खेती गर्दै आएको क्षेत्र पछिल्लो समय उखु बारी भनेर समेत परिचित हुँदै गएको छ । उखु व्यवसाय गरेदेखि जीविकोपार्जनको लागि अन्य काम खोज्नु नपरेको उनले बताए । आजभोलि गर्मी समय पनि भएको हुँदा बिक्री पनि राम्रो हुने गरेको छ, उखुको जुस बिक्रीमा समस्या छैन, उनले भने’ जुनसुकै पेसा व्यवसायलाई निरन्तरता दिन सकियो भने एक दिन उपलब्धि हासिल गर्न सकिने उनीसँग अनुभव रहेको छ ।
किसान बुढाले तीन बिघा १५ कठ्ठा जग्गा भाडामा लिएर व्यावसायिक रुपमा उखुको खेती गर्दै आएका छन् । जसको वार्षिक रुपमा तीन लाख भाडा तिर्ने गरेको उनले बताए । पछिल्लो समय उखु भन्दा पनि उखुको जुस नै आम नागरिकको रोजाइमा पर्ने गरेको सुनाए ।
एक गिलास जुसलाई ५० का दरले बिक्री गर्ने गरेको किसान बुढा बताउनुहुन्छ । उनले गर्मीको समयमा दैनिक एक सयदेखि दुई सय गिलाससम्म बिक्री गर्दै आएका छन् । उखु खेतीबाट वार्षिक रुपमा रु १५ लाख बढीको कारोबार गर्दै आएको र जसबाट वार्षिक रुपमा ४० प्रतिशत बचत हुने गरेको उनको अनुभव रहेको छ ।
घोराही बजारदेखि नजिक रहेको हुँदा धेरै मानिसलाई यहाँ उखुको जुस पाउँछ भनेर जानकारी रहेको उनले बताए । उखुको जुसले स्वास्थ्यलाईसमेत फाइदा गर्ने र जण्डिस (अमलपित्त) रोग लागेका व्यक्तिलाई झन औषधिको काम गर्ने भएकाले सबैले रुचाएको बताउहुन्छ । घोराही–१७ गैरागाउँ क्षेत्रमा मात्रै सात बढी व्यावसायिक उखुखेती गर्ने किसान रहेका छन् ।
साना व्यवसायिलाई पनि स्थानीय सरकारले जीविकोपार्जनमूलक सीप विकास, आर्थिक तथा प्राविधिक सहयोग गरी युवालाई विदेश जानबाट रोक्नुपर्नेमा उनको धारणा रहेको छ ।
प्रतिक्रिया